गुल्मी घटनामा संलग्न धामीझाँक्रीमाथि ज्यान मुद्दाको तयारी

माघ १, २०७७

तथ्यांकले तुलनात्मक रुपमा स्वास्थ्य सेवा र शैक्षिक अवस्थामा सुधार हुँदै गएको देखाउँछ । अझ, चेतना बिस्तारकै लागि भन्दै सरकारी तवरबाटै वर्षेनी ठूलो धनराशी खर्च हुन्छ । तर, ग्रामीण क्षेत्रमा व्याप्त अन्धविश्वास भने अझै हटेको छैन । यसको पछिल्लो उदाहरण हो, गुल्मीमा झाँक्रीको कुटाइबाट एक जनाको ज्यान जानु ।

सरकारी, निजी अस्पतालमा मात्रै होइन, ग्रामीणस्तरमा स्वास्थ्य चौकी र दर्जनौं क्लिनिक छन् । तम्घासमै मात्र निजी र सरकारी गरी दुई वटा अस्पताल छन् । तर, उपचारका लागि झाँक्रीको भरपर्दा बुधबार गुल्मीका एक बृद्धले ज्यान गुमाए । उनकै दुई छोरा गम्भीर घाइते भए । लामो समयदेखि ढाड दुख्ने रोगले ग्रसित इस्मा गाउापालिका दर्लामचौरका ६४ वर्षीय रामबहादुर कुमाल आफ्ना दुई छोरासहित झारफुकका लागि सदरमुकाम तम्घास पुगेका थिए । बोक्सी लागेको भन्दै झाँक्रीको कुटाइपछि कुमालले ज्यान गुमाए भने छोराहरु गम्भीर घाइते छन् ।

 लामो समयदेखि थाइराइडकी बिरामी रेसुङ्गा नगरपालिका ५ भुवनपानीकी ४० वर्षीया टोपला दमाई पनि औषधिले काम नगरेको भन्दै झारफुक गर्न तिनै झाँक्रीकोमा  गइन् । पैसा तिरेरै झारफुकमा लागेकी उनी पनि अहिले झाँक्रीको पिटाइबाट घाइते छिन् । 

यी दुवै घटना सदरमुकाम तम्घासमै आठ वर्षदेखि झारफुकको काम गर्दै आएका रामप्रसाद र शान्तिकला श्रेष्ठको कुटाइले भएका हुन् । आफूलाई लामाधामी भन्दै उनीहरुले झारफुकलाई व्यवसाय नै बनाएका छन् । यो दम्पतीसँगै जोडिएर यस्ता विवादास्पद घटना पटकपटक हुँदै आएका थिए । 

कुटपिटमा संलग्न दम्पतीलाई प्रहरी पक्राउ गरेको छ । उनीहरुमाथि ज्यान लिएको, ज्यान मार्ने उद्योग र कुरिती तथा अन्धविश्वास फैलाएको कसुरमा कारबाही हुने प्रहरीको भनाइ छ । सदरमुकाम तम्घासमा मात्रै होइन ग्रामीण क्षेत्रमा पनि यसरी नै धामीझाँक्रीको नाममा झारफुक गर्ने प्रचलन कायमै छ । झारफुकको नाममा ठगी भइरहादा पनि रोक्ने प्रयास कतैबाट भएको छैन । अझ सोचनीय कुरा त के भने, समाजमा अन्धविश्वास हटाउन लाग्नुपर्ने शिक्षित व्यक्ति नै धामीझााक्रीको भर पर्ने गरेका छन् ।