रुपन्देहीमा छाडा चौपायाका लागि आश्रम

माघ १, २०७७

सबैजसो शहर-बजारमा छाडा बस्तुभाउको समस्या छ । व्यवस्थापनमा खासै कसैको ध्यान गएको छैन । यही कारण सवारी दुर्घटना पनि बढेको छ । यस्तो अवस्थामा रुपन्देहीका गौधामहरु भने छाडा जनावर व्यवस्थापन तथा संरक्षणमा जुटेका छन् । छाडा छोडिएका गाईबस्तु अहिले आश्रमको आम्दानीको स्रोत बनेका छन् ।

गाई नेपालको राष्ट्रिय जनावर हो । हिन्दु समुदायमा गाईलाई पवित्र र समृद्धिको प्रतिक मानिन्छ । तर, आजभोली गाईको संरक्षण हुन सकेको छैन् । दुधालु हुँदासम्म घरमा राख्ने र त्यसपछि बजारमा छोडीदिने प्रवृति छ । दुध बढी हुने भन्दै कतिपयले त दुधे बाच्छोलाई पनि सडकमा छोडिदिन्छन् । सडकमा छाडा गाइगोरुकै कारण ट्राफिक व्यवस्थापनमा चुनौती छ । सडकका बेवारिसे बस्तुभाउलाई रुपन्देहीमा भने आश्रम नै संचालन गरेर राख्न थालिएको छ । 

रुपन्देही, नवलपरासी र कपिलबस्तुका बिभिन्न ठाउँमा दुर्घटनामा परेका र छाडाछोडिएका गाईगोरु आश्रममा ल्याएर राखिएका छन् । देवदह र तिलोत्तमा नगरपालिकामा रहेका तीनवटा आश्रमले आफ्नै पहलमा करिव ६ सय गाईगोरुलाई राख्ने, खुवाउने तथा औषधोपचार गरिरहेका छन् । क्षमता भन्दा बढी जनावर हुन थालेपछि आश्रमले दुर्घटनामा परेकालाई मात्र उद्धार गर्न थालेको छ । देवदह र तिलोत्तमा नगरपालिकाले आश्रमलाई गर्ने सहयोग हात्तीको मुखमा जिरा जस्तै छ । बजारमा अझै छाडा गाईगोरु यत्रतत्र देख्न सकिन्छ । व्यवस्थापन गर्ने कार्य स्थानीय सरकारको प्राथमिकतामा छैन् । 

रकम अभाव हुन थालेपछि आश्रमले गाईको गोबर र गौंत लाई कारोबारको माध्यम बनाएका छन् । कामधेनु गौशालाले स्थानीय जातका गाईको दुध, घ्यू, गौंत र गोबरबाट १८ प्रकारका आयुर्वेदिक ओखती तयार पारेको छ । 

छाडा गाईगोरुको व्यवस्थापनमा यहााको गौधाम आश्रमले सकारात्मक प्रयास गरिरहेका भएपनि आवश्यकता अनुसार हुन सकेको छैन । जसका कारण बजारमा अहिले पनि छाडा चौपाया देख्न सकिन्छ । यसमा स्थानीय सरकारदेखि सरोकारवाला तथा पशुपालक किसान जिम्मेवार बन्नु आवश्यक छ ।