सालका रुख कटान गरी सुकुम्बासी स्थानान्तरण गरेपछि माडी नगरपालिका विवादमा

श्रावण १८, २०७७

सुकुम्बासीलाई स्थानान्तरणको नाममा रुख कटान गरेर बस्ती बसालेपछि चितवनको माडी नगरपालिका विवादमा परेको छ । चितवन राष्ट्रिय निकुञ्ज भित्रको कुसुमखोलामा सालका रुख काटेर बस्ती स्थानान्तरण गरेपछि विवाद चुलिएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज भित्रको माडी नगरपालिका-९, कुसुमखोलामा २०४८ सालदेखि चेपाङ समुदायको बसोबास रहँदै आएको छ । एक सय ६० घरधुरी रहेको कुसुम खोलामा अहिले १० घरधुरी मात्रै छन् । निकुञ्जले उनीहरुलाई पटकपटक उठाउँन खोज्दा पनि बैकल्पिक व्यवस्थापन अभावमा सफल भएन । अन्ततः माडी नगरपालिकाको सहयोगमा वस्ती निर्माण गरेर स्थानान्तरण गरियो ।  नगरपालिकाले पनि बन मासेरै बसायो । मध्यवर्ती बन क्षेत्रमा सालका रुख कटान गरेर बस्ती बनाएपछि नगरपालिका विवादमा तानिएको  छ । नयाँ बस्ती बनाइएको कृष्णनगरस्थित राईडाँडामा एक सय ६६ र स्कुलडाँडामा एक सय ६४ रुख कटानी भएको चितवन राष्ट्रिय निकुञ्जको दावी छ । तीमध्ये अधिकांश रुख सालका छन् । 

काटिएका रुख कहाँ गए निकुञ्जलाई पनि जानकारी छैन । 

गत चैतदेखि बस्ती निर्माण सुरु गरेको नगरपालिकाले लकडाउनका कारण पुरै घर बनाउन सकेन । यही बीचमा रुख फडानी गरेर बस्ती बसालेको भन्दै बेनामे उजुरी परेपछि निकुञ्जले घर निर्माणको प्रक्रिया रोकेको छ । मध्यवर्तीको जग्गामा सुरक्षित बसोबासको नाममा प्रक्रिया नपुर्‍याई रुख काटेर बस्ती बसालेपछि घर निर्माण रोकेको निकुञ्जको भनाइ छ । माडी नगरपालिकाले एकवर्ष अघिदेखि नै कुसुमखोलामा बसोबास गरेका चेपाङ्गलाई राईडाँडा, स्कुलडाँडा, पुरुइ खोला, खरिकुना ल्याएर राखिएको थियो । बस्ती निर्माणको काम भने चैत पहिलो साता मात्रै सुरु भएको थियो । जेठको दोस्रो सातासम्म वस्ती स्थानान्तरण गरिसक्ने योजनामा नगरपालिका थियो । 

वन र निकुञ्जको जग्गा सुकुम्बासी बस्तीलाई दिन नमिल्ने कानुनी व्यवस्था हुँदाहुँदै नगरपालिका बिना समन्वय अघि बढेपछि स्थानान्तरण विथोलिएको छ । अर्कातिर, चेपाङ्ग समुदाय घर घाटका भने झै भएका छन् ।