प्रशिक्षणको अनुमति पाएपछि क्रिकेट संघ तयारीमा जुट्यो

श्रावण १८, २०७७

कोरोना भाइरस महामारीका कारण लकडाउनमा परेको विश्व क्रिकेट विस्तारै लयमा र्फकने प्रयासमा छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद र आफ्नो सरकारको निर्देशअनुसार मापदण्ड बनाएर कतिपय मुलुकमा अभ्यास सुचारु भइसकेका छन् । नेपालमा पनि सरकारको अनुमति पाएपछि भदौ एक गतेबाट अभ्यास सुरु गर्ने तयारी भइरहेको छ । तर पछिल्लो समय बढिरहेको संक्रमणको दरले नेपाल क्रिकेट संघ क्यानलाई चिन्तित बनाएको छ ।

झण्डै चार महिना सुनसान रहेको कीर्तिपुरस्थित क्रिकेट मैदानमा अहिले चहलपह देखिन्छ । सरकारले भदौ एक गतेबाट अन्तर्राष्ट्रिय खेलका लागि प्रशिक्षण गर्न अनुमति दिएपछि क्यान तयारीमा जुटेको हो । क्यानको योजना अनुसार बढीमा २४ जना खेलाडीलाई अभ्यासमा बोलाइनेछ र उनीहरुलाई कीर्तिपुर मैदानभित्रै क्वारेन्टिनमा राखिनेछ । क्यानले खेलाडी, पदाधिकारी र सहयोगी कर्मचारी गरी कुल ३५ जनाको पीसीआर परीक्षणका लागि स्वास्थ्य मन्त्रालयसाग आग्रह गरेको छ । कीर्तिपुर मैदानलाई जैविक रुपमा सुरक्षित बनाउन करिब १५ लाख खर्च हुने क्यानको आकलन छ । प्रशिक्षण गर्दा बल चम्काउन थुकको प्रयोग गर्न नपाइने, खेलाडीले बलिङ गर्दा अम्पायरलाई टोपी, चस्मा, रुमाल जस्ता सामान दिन नमिल्ने जस्ता नियम बनाइएको छ । लामो समयदेखिको खेलशून्यतालाई तोडेर प्रशिक्षण सुरु हुने कुराले खेलाडीमा आशा जगाएको छ । राष्ट्रिय टोलीमा रहेका केही खेलाडी उच्च जोखिममा रहेका वीरगञ्ज, महेन्द्रनगर लगायत स्थानमा छन् । ती खेलाडीको व्यवस्थापन पनि चुनौतीपूर्ण नै छ । अवस्था योभन्दा खराब बन्दै गए प्रशिक्षणको मिति सर्न पनि सक्ने क्यान पदाधिकारीको भनाइ छ ।