नेपाली चियाको ब्राण्डिङ गर्न एकीकृत ट्रेडमार्क कार्यान्वयनमा ल्याइँदै

श्रावण १८, २०७७

नेपालमा उत्पादन हुने चियाको अन्तर्राष्ट्रियस्तरमा बजार विस्तारका लागि हिमाल अंकित टेड्रमार्क कार्यान्वयनमा ल्याउन लागिएको छ । गुणस्तर सुनिश्चित गरी भदौबाट टेड्रमार्कसहितको चिया बेच्ने तयारी छ । 

व्यवसायीले अहिले आ-आफ्नै तवरमा चिया निर्यात गर्दै आएका छन् । कम गुणस्तरको चिया पनि निर्यात हुने गरेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको स्तरबारे प्रश्न उठेपछि गुणस्तर सुनिश्चित गरी ब्राण्डिङ गर्न लागिएको हो । ट्रेडमार्कको व्यवस्था गर्दा निर्यात बढ्ने र बजारीकरणमा पनि सहयोग पुग्नेछ । सरकारले नै ब्राण्डिङका लागि पहल अगाडि बढाएपछि ४२ वटा व्यावसायिक कम्पनीले ट्रेडमार्कको नमुना राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा बुझाएका छन् । छनोट गर्न भने बाँकी छ । नेपालको अर्थोडक्स चिया अहिले अमेरिकादेखि जापानसम्म पुग्छ । दक्षिण कोरियादेखि युरोपका देशमा पनि नेपाली चियाको माग छ । तर बजार हिस्सा भने बढ्न सकेको छैन । बोर्डका अनुसार वाषिर्क साढे दुई करोड किलो चिया उत्पादन हुने गरे पनि निर्यात वाषिर्क चार अर्ब रुपैयाामा सीमित छ । ब्राडिङ नभएकाले बजारीकरणमा समस्या भएको हो । कोरोना महामारी सुरु भएयता माग बढेकाले गुणस्तर सुनिश्चित गरी बेच्न सके त्यसबाट विदेशी मुद्राको आर्जन मात्र बढ्दैन, रोजगारीका अवसर पनि बढ्नेछन् । बजार नपाएको भन्दै केही समय पहिले चिया खेतीमा डोजर नै लगाइएको थियो । ब्राण्डिङ गरेर बजार लिन सके चिया खेतीबाट किसानको पलायन रोकिने मात्र होइन, उनीहरुको जीवनस्तरमा पनि सुधार आउनेछ । साथै चियाको गुणस्तर बढाउन पनि दबाब पुग्नेछ ।