नक्कली सुनलाई सक्कली भनि कारोबार गर्ने गिरोह सक्रिय

श्रावण १८, २०७७

गत मंगलबार कमलादीमा भेटिएको भनिएको सुनसम्बन्धी प्रकरण यतिखेर काठमाडौं प्रहरीलाई टाउको दुखाइ बनेको छ । आफ्नै जवानले ठूलो परिमाणमा सुन तस्करी हुँदै छ भनेर दिएको सूचनालाई पछ्याउँदा एकातिर अपजस मिलेको छ भने अर्कोतिर काठमाडौंमा नक्कली सुनलाई सक्कली भनि कारोबार गर्ने गिरोह नै सक्रिय रहेको तथ्य पनि खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रांगणमा एउटा स्करपियो राखिएको छ , पछिल्लो चार दिन देखि यही स्करपियोसँग जोडिएको घटनाले काठमाडौं प्रहरीलाई हैरान बनाएको छ । मंगलबार बिहान करिब ९ बजे दरबारमार्ग वृत्तका डीएसपी रञ्जन दाहाललाई आफनै सादापोशाकका जवानले काठमाडौंमा सुन तस्करी हुँदै गरेको सुचना दिन्छ । सुचनाका आधारमा प्रहरी जवान बहादुर सिंह कठायत र प्रसन्न श्रेष्ठले गाडीलाई छुट्टाछुट्टै पछ्याउँछन । सुन बोकेको भनिएको गाडी कमलपोखरीबाट कमलादी , भद्रकाली हुादै  दुइ चक्कर लगाएर पुनः शहिदगेटमै पुग्छ । गाडीलाई पछ्याइरहेका प्रहरी जवान कठायतले सामान लिनेलाई नियन्त्रणमा लिन्छ । उनी थिए निलेश सखिया । सामान र मान्छे नै नियन्त्रणमा आए पनि गाडी भने फरार हुन्छ । गाडीमा सुन भनेर बरामद गरेको सामान सुनको जलप लगाइएको चाँदी थियो ।  सुन तस्करीको सुचना दिने भारतीय नागरिकहरु देवाग पटेल र कौशल पटेल सहित त्यही सुचना लिएर दोहोरो खेल्ने जवान कठायत सहित ६ जना नियन्त्रणमा छन् । प्रहरीको अपरेसनमा केही चुक देखिए पनि काठमाडौंमा १५ किलो नक्कली सुन कहाँ कारोवार हुँदै थियो भन्ने मुख्य अपराध हो । प्रहरीका अनुसार भारतीय कारोवारीले नेपालबाट १५ किलो सुन मागेको र सक्कली भनेर चाँदीका जलप लगाएर नक्कली दिन खोजेको देखिएको छ । जसका कारण प्रहरीले जलप लगाउनेलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका निलेश सुन व्यसायी हुन । तिनैले चाँदीमा जलप लगाएर सक्कली सुनको पैसा असुल गर्न खोजेको र उनको अर्को साझेदारको पनि देखिएको प्रहरीको दावी छ । गत मंगलबारको घटना अपे्रशनमा चुक कति घातक हुन्छ भन्ने प्रहरीलाई पाठ त सिकाएको छ , त्यो भन्दा आफैंमा गैरकानुनी सुन तस्करीका नाममा नक्कली भिडाउने गिरोह पनि सक्रिय रहेको खुलेको छ ।