कांग्रेस वरिष्ठ नेता पौडेल आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा आउने कसरतमा

श्रावण १८, २०७७

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि १४ औं महाधिवेशनलाई लिएर सक्रियता बढाएका छन् । लगातार पार्टीभित्र र बाहिर पनि हार भोगेका पौडेलका लागि आगामी महाधिवेशन वारपारको अवस्था पनि हो । त्यसैले पौडेल संस्थापन पक्षलाई घेराबन्दी गर्ने र आफ्नै गुटभित्र निर्विकल्प देखिने कोसिसमा छन् ।

पार्टीभित्र संसदीय दलमा २ पटकको हार, महाधिवेशनमा सभापतिमा हार र संसदीय निर्वाचनमा आफ्नै निर्वाचन क्षेत्रमा भोगेको पराजयले पौडेल राजनीतिक रुपमा निकै संकटपूर्ण घटीमा छन् । बढ्दो उमेर र युवा पुस्ताले निरन्तर नेतृत्व छोड्न दिएको दबाब पौडेल र उनको पुस्ताकै लागि अर्को टाउको दुखाइ बनिरहेको छ । त्यसैले पौडेल यतिबेला जसरी पनि १४ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा आउने कसरतमा छन् । सभापति देउवाको साढे चार वर्षको कार्यकालमा हरेक विषयमा ४० प्रतिशतको भाग लिएका पौडेल यतिबेला भाग लिनेभन्दा देउवालाई राजनीतिक घेराबन्दी गरेर कार्यकर्तामा जान खोजिरहेका छन् । त्यसैले पौडेलले बिहीबार पत्रकार सम्मेलन गरी जेष्ठ राजनीतिज्ञ सभा र अन्य विभाग एकलौटी गठन गरेर महाधिवेशन प्रभावित गर्न खोजेको आरोप देउवामाथि लगाए । हुन त पौडेल आफ्नै गुटबाट पनि अहिलेसम्म सर्वसम्मत उम्मेद्वार होइनन् । कोइराला परिवारमा त्यागको भावना वा परिबन्द सिर्जना नभएसम्म पौडेलले पालो पाउने ठोकुवा गर्न सकिने अवस्था छैन । यद्यपि, अन्तिममा देउवाविरोधी खेमाले आफूलाई सहयोग गर्ने उनको विश्वास छ । एकातिर महाधिवेशनकेन्द्रित देउवाको सक्रियता, अर्कोतर्फ आफ्नै समूहका धेरै नेताको नेतृत्व आकांक्षी व्यवस्थापन पौडेललाई फलामको चिउरा भइसकेको छ । पौडेल पक्षधर नेताहरू भने उनको अडान व्यक्तिलक्षित नभई नीतिकेन्द्रित भएको तर्क गर्छन् । राजनीतिक रुपमा समकक्षी भए पनि देउवा चारपटक प्रधानमन्त्री र पार्टी सभापति भइसक्दा पौडेलले अहिलेसम्म कार्यकारी नेतृत्व हात पार्न सकेका छैनन् । त्यसमाथि पछिल्ला वर्षहरुमा पार्टीभित्र र बाहिर पनि निरन्तर भइरहेको चुनावी हारले पौडेलमा अरू छटपटी देखिन्छ ।