नयाँ प्रहरी प्रमुख को ?

असार १७, २०७७

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले ९ दिनपछि अवकाश पाउँदैछन् । तर उनीपछि प्रहरीको नेतृत्व कसले सम्हाल्छ भन्ने टुंगो लागेको छैन । सरकार अनिर्णीत भएकाले अवकाशको एक महिनाअघि महानिरीक्षक विदा बस्ने परम्परा यसपालि पनि खल्बलिएको छ ।  

ज्ञवालीले प्रहरी महानिरीक्षक आइजीको जिम्मेवारी सम्हालेको पाँच महिना पनि पूरा भएको छैन । ३० वर्षे सेवा अवधिका कारण उनले असार २५ मा अवकाश पाउँदैछन् । नयाँ आइजीको प्रतिस्पर्धामा अतिरिक्त महानिरीक्षक एआइजी शैलेश थापा र हरि पाल छन् । यी दुईमध्ये जसले बाजी मारे पनि प्रहरीले लामो समयपछि एआइजीबाट आइजी पाउँदै छ । ज्ञवालीसहित यसअघिका प्रहरी प्रमुख सर्वेन्द्र खनाल र प्रकाश अर्याल डीआइजीबाट सिधै आइजी भएका थिए । अहिले प्रतिस्पर्धामा रहेका थापा र पाल दुवैजना चार महिनाअघि एआइजीमा बढुवा भएका थिए । यी दुवै अधिकृत ०४९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । उनीहरुसँगै एआइजी भएका तारिणी लम्सालले तीस वर्षे सेवा अवधिका कारण ज्ञवालीसँगै अवकाश पाउँदैछन् । जसका कारण वरियतामा पहिलो नम्बरका थापा र दोस्रो नम्बरका पालबाट २८ औं आइजीपी छानिनेछ । तर सरकारले समयमै निर्णय नलिँदा अवकाशको एक महिनाअघि विदा बस्ने परम्परालाई यसपालि ज्ञवालीले पनि निरन्तरता दिन सकेनन् । 

सुरक्षा संगठनमा खासगरी नयाँ प्रमुखलाई जिम्मेवारी बुझ्ने अवसर दिन अवकाशको एक महिनाअघि आइजी विदा बस्ने परम्परा बसालिएको हो । तर सरकारले अन्तिम समयमा निर्णय लिने गरेकाले त्यो परम्परा केही वर्षयता खल्बलिएको मात्र छैन कि संगठनमा राजनीतिक हस्तक्षेप पनि बढेको छ । 

अबको आइजीले २२ महिना प्रहरीको नेतृत्व सम्हाल्नेछ । यसअघि सर्वोच्च अदालतले तजबिजमा नभइ ऐनमै प्रस्ट विधि किटेर बढुवा गर्न आदेश दिएको थियो । त्यसैले राजनीतिकरणले गिजोलिएको संगठनमा आइजी छान्दा दलगत निकटता हेर्नेभन्दा पनि विधि र पद्धति बसाले सुधारको सन्देश जानेछ ।