६ देखि १० प्रतिशतको बीचमा संक्रमण पुष्टि : उही दर देखिनुको कारण के ?

असार १७, २०७७

पीसीआर विधिबाट गरिएको परीक्षणमा दुई सातायता संक्रमण दर एउटै देखिएको छ ।  परीक्षण केही बढी वा घटी हुँदा पनि संक्रमणको दर खासै फरक देखिएको छैन । यसले के संकेत गर्छ त ? 

पीसीआर विधिबाट सोमबार ७७ सय ९१ नमुना परीक्षण गर्दा ४ सय ७६ जना अर्थात ६ प्रतिशतमा संक्रमण देखिएको थियो । मंगलबार तीन हजार कम अर्थात् ४७ सय ११ जनाको नमुना परीक्षण हुँदा ३ सय १६ जना अर्थात ६ प्रतिशतमै संक्रमण पुष्टि भयो । असार १३ गते अहिलेसम्मकै धेरै संक्रमण देखिएको थियो । त्यो दिन ४६ सय ९ जनाको परीक्षण गर्दा ५ सय ५४ जनामा भाइरस देखिएको थियो । त्यसबाहेक दुई सातायता गरिएको परीक्षणमा संक्रमण दरमा खासै फरक छैन । परीक्षण गरिएका नमुनाको तुलनामा ६ देखि १० प्रतिशतको बीचमा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसका बिरामी दुई सातायता उही दरमा देखिनुको कारण के हो त ? 

अझ अर्को अनौठो के भने, अहिलेसम्मको कुल परीक्षणमा पनि ६ प्रतिशतमै भाइरस देखिएको छ । पीसीआर विधिबाट २ लाख २८ हजार नमुना परीक्षण गर्दा १३ हजार ५ सय ६५ जनामा भाइरस देखिएको छ । अहिलेसम्म भाइरस देखिनेमध्ये करिब ९५ प्रतिशत क्वारेन्टिनमा राखिएकाहरु हुन् । अर्थात क्वारेन्टिनबाहिर समुदायमा खासै परीक्षण गरिएको छैन । त्यही कारण स्वास्थ्य मन्त्रालय नै संक्रमण दर बढ्छ वा घट्छ भनेर बताउन सक्ने अवस्था छैन ।

भाइरसको उदगम थलो मानिने चीनदेखि युरोपका देशमा संक्रमण दर उच्च विन्दुमा पुगेपछि केही समय स्थिर देखिएको थियो । र, क्रमशM नियन्त्रणमा आएको थियो । तर नेपालमा अहिले नै एक समानको संक्रमण दर देखिनुको कारण समयमै लकडाउन गर्नु र क्वारेन्टिनबाट बाहिर संक्रमण फैलिन नदिनु एउटा हुन सक्छ भने समुदायमा परीक्षण नै नहुनुले पनि वास्तविक अाकडा नअाएको हुन सक्ने देखिन्छ । यो अवस्थामा नेपालमा कहिले उच्च विन्दुमा पुग्छ र नियन्त्रणमा आउँछ भनेर भविष्यवाणी गर्न नमिल्ने विशेषज्ञको भनाइ छ ।