फजुल खर्च कटौती अर्थमन्त्रीको भाषणमा मात्रै, खारेज भनिएका शीर्षकमै बजेट बढी

जेष्ठ १७, २०७७

अर्थमन्त्री युवराज खतिवडाले बिहीबार सबै प्रकारका भत्ता खारेज गरेको घोषणा गरे पनि बजेटमा भने यथावत् राखिएको छ । उनले उल्लेख्य कटौती गरिएको भनिएका शीर्षकमा समेत चालु वर्षको भन्दा बढी बजेट छुट्याइएको छ । यसले फजुल खर्च नियन्त्रणमा सरकार कठोर बन्न सकेको देखिँदैन । 

बिहीबार अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा  यो घोषणा गर्दा सांसदले मात्र ताली बजाएनन्, सार्वजनिक खर्चमा मितव्ययिताको आवाज उठाउँदै आएकाहरु समेत खुशी भएका थिए । तर अर्थमन्त्रीको घोषणाविपरीत बजेटमा फजुल खर्चलाई निरन्तरता दिइएको छ । स्रोत व्यवस्थापन चुनौतीपूर्ण भएपछि विकास बजेट साढे १३ प्रतिशतले कटौती गरेका अर्थमन्त्रीले नेता र कर्मचारीको सेवासुविधामा खर्च हुने चालु खर्च भने एक प्रतिशत पनि घटाएका छैनन् । अर्थमन्त्रीले खारेज गरेको भनिएका शीर्षकमध्ये कतिपयमा चालु आर्थिक वर्षको भन्दा बढी बजेट छुट्याइएको छ । स्थानीय भत्ता, महँगी भत्ता, फिल्ड भत्ता, बैठक बैठक भत्ता, प्रोत्साहन भत्ता, वैदेशिक भत्ता लगायतलाई निरन्तरता दिइएको छ । खारेज गरिएका भनिएकै शीर्षकमध्ये स्थानीय भत्ताको बजेट ५६ करोड, वैदेशिक भत्ता ७ करोड र पदाधिकारी तथा अन्यको सुविधाको बजेट २४ करोड बढाइएको छ । अर्थमन्त्रीले उल्लेख्य कटौती गरेका भनिएका शीर्षकमध्ये पदाधिकारीको इन्धनमा ३ करोड, सवारी साधन मर्मतमा १ करोड, गोष्ठीमा २ अर्ब, भ्रमणमा ८ करोड, अन्य भ्रमणमा २ करोड ८० लाख र फर्निचरमा ९ करोड बढी बजेट विनियोजन गरिएको छ । यस्तै सेवा खरिद तथा परामर्शमा पनि चालु वर्षको संशोधित अनुमानभन्दा  साढे तीन अर्ब बढी अर्थात १२ अर्ब ९७ करोड रुपैयाँ छुट्याइएको छ ।खारेज गरिएका भनिएकामध्ये कर्मचारी र पदाधिकारीको बैठक भत्ता केही कटौती गरी निरन्तरता नै दिइएको छ । महामारीका कारण स्रोत व्यवस्थापन चुनौतीपूर्ण भएका बेला पनि अर्थमन्त्री खतिवडाले फजुल खर्च कटौतीमा गर्न नसकेको प्रस्ट देखिन्छ ।  विकास बजेट चालु आर्थिक वर्षभन्दा ५५ अर्ब १६ करोड घटाएका अर्थमन्त्रीले साधारण खर्च ८ अर्ब १६ करोड मात्र कम गरेका छन् ।राजस्व संकलनको लक्ष्यभन्दा साधारण खर्च ५९ अर्ब रुपैयाँ बढी छ । वैदेशिक अनुदान र ऋणको लक्ष्य पनि ठूलो छ । जसका कारण सरकारलाई यसपालि जस्तै अर्को वर्ष पनि खर्चको जोहो गर्न मुस्किल पर्ने देखिन्छ ।