बजेटमा कस्ता छन् त छुट र सहुलियत ब्याजका कार्यक्रम ?

जेष्ठ १६, २०७७

कोरोना भाइरसको महामारी रोकथामका लागि गरिएको लकडाउनले शिथिल भएको निजी क्षेत्रका लागि बजेटमा छुट र सहुलियत ब्याजका कार्यक्रम ल्याइएका छन् । उत्पादनमूलक उद्योगले लकडाउन अवधिभर विद्युतको डिमाण्ड शुल्क तिर्नुपर्ने छैन । यस्तै १० युनिटसम्म विद्युत खपत गर्ने साना ग्राहकका लागि महशुल मिनाहा गरिएको छ । घरेलु, साना तथा मद्यौला र पर्यटन व्यवसायका श्रमिकको पारिश्रमिक भुक्तानी र व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा ऋण दिन ५० अर्बको कोष स्थापना गरिने भएको छ । यस्तै उत्पादनमूलक उद्योग र होटल सञ्चालकलाई ५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन १ खर्बको अर्को कोष खडा गरिने भएको छ । यस्तै नेपाली हवाइ सेवा कम्पनीले तिर्नुपर्ने पार्किङ शुल्क र उडान योग्यता प्रमाणपत्र दस्तुर तथा आमसञ्चार, निर्माण, यातायात क्षेत्रमा इजाजत पत्र नविकरण दस्तुरमा छुटको घोषणा गरिएको छ ।