एकै वर्षमा बैंकको ऋण नतिर्ने तीन हजार ऋणी कालोसूचीमा

भाद्र ३०, २०७६

कालोसूचीमा पर्नेको संख्या बढेसँगै खराब ऋणको मात्रा पनि ६८ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकबाट ऋण लिए नतिर्नेको संख्या आर्थिक वर्ष २०७४/०७५ सम्म ६ हजार २ सय ४१ थियो । त्यो वर्ष मात्र १३ सय ३५ जना थपिएका थिए । कालोसूचिमा पर्ने ऋणीको संख्या अहिले ८ हजार ३ सय ९२ पुगेको छ । गत आर्थिक वर्ष मात्र कालोसूचिमा २ हजार ८ सय ४२ जना ऋणी थपिएका छन् । थपिनेमध्ये धेरैजसो साना ऋणी हुन् । बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर समयमै नतिर्नेलाई कर्जा सूचना केन्द्रले  कालोसूचिमा राख्दै आएको छ ।  एक वर्षभन्दा बढि भाका नाघेको ऋणलाई खराब ऋण मानेर ऋणीलाई कालोसूचिमा राख्ने व्यवस्था छ । ऋण तिरेपछि मात्र कालोसूचिबाट हटाउने व्यवस्था छ । तर गत वर्ष ६ सय २८ जना ऋणी मात्र कालोसूचिबाट हटेका छन् । 

हट्नेको तुलनामा थपिनेको संख्या धेरै भएकाले खराब ऋणको मात्रा ६८ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । २८ मध्ये ६ वटा बैंकले खराब ऋण घटाए पनि २२ बैंकको खराब ऋण गत वर्षको तुलनामा १ दशमलव चार पाँच प्रतिशतले बढेको छ । कालोसूचिमा पर्ने ऋणीको संख्याको तुलनामा बैंकहरुको खराब ऋण खासै नबढेको विवरणका कारण बैंकहरुमाथि अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले सहि ढङ्गले खराब कर्जा गणना नगरेको आरोप लगाएको छ ।  

बैंकहरुले गत वर्ष कर्जा पुँजी निक्षेपको ७९ प्रतिशत रकम ऋण लगानी गरेका थिए । कालोसूचिमा पर्ने ऋणीको संख्या दोब्बरले बढ्नु र खराब ऋण थपिनुले ऋण अन्धाधुन्धरुपमा प्रवाह गरिएको त होइन भनेर प्रश्न उब्जिएको छ ।