बाँके घटनाबारे गृहमन्त्रीको जवाफबाट प्रमुख प्रतिपक्षी असन्तुष्ट

भाद्र ३०, २०७६

प्रतिनिधिसभामा गृहमन्त्रीले दोहोर्याएर जवाफ दिँदासमेत आक्रामक देखिएको कांग्रेसले दोषीलाई कारवाही गर्न र सत्ता उन्माद नदेखाउन चेतावनी दिएको छ । सत्तारुढ दल नेकपाका कार्यकर्ताले अरिंगाल शैलीमा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाउँदै कांग्रेसले आइतबार संघीय संसदका दुबै सदनको बैठक शुरु हुने बित्तिकै गृहमन्त्री रामबहादुर थापासँग बाँके घटनाको जवाफ मागेको थियो । 

जवाफमा गृहमन्त्री थापाले बाँकेमा काँग्रेस जिल्ला सभापति किरण कोइराला घाईते हुनेगरि विहिबार भएको घटनाप्रति सरकार गम्भीर रहेको भन्दै दोषी माथि कडा कारवाही हुने प्रतिवद्धता जनाए । तर गृहमन्त्री थापाले उक्त घटनालाई राजनीतिक रुपमा हेर्न नमिल्ने बताएपछि भने काँग्रेस सांसदहरु आक्रमक बनेका थिए । 

गृहमन्त्री थापाको जवाफमै असन्तुष्टी जनाउँदै कांग्रेसले विरोध गरेपछि स्थगित भएको बैठक झण्डै २ घण्टापछि फेरि शुरु भएको थियो । त्यहाँ पनि कांग्रेसको अवरोध जारी रहेपछि प्रतिनिधिसभा बैठक चल्न सकेन् । 

राष्ट्रियसभामा पनि त्यस्तै भयो । कांग्रेस सांसदहरुले गृहमन्त्री थापाको जवाफ चित्त बुझाएनन् । बरु किटानी जाहेरी दिएका व्यक्तिलाई पक्रेर कारवाही अघि नबढाउँदासम्म सदन चल्न नदिने चेतावनी दिए । 

सत्तापक्षकै कार्यकर्ताले बाँकेमा आक्रमण गरेको तर किटानी जाहेरीमा नाम मुछिएका आफ्ना कार्यकर्ता जोगाउन गृहमन्त्री थापा नै सक्रिय भएको भन्दै कांग्रेसले अबरोध गरेपछि दुबै सदन सोमबारसम्मका लागि स्थगित भएको छ ।