३ सय ५० वर्षको इतिहासमा रंग

भाद्र २९, २०७६

करिब ३ सय ५० वर्षको इतिहास रहेको लिच्छविकालीन समयलाई नेपाली इतिहासकै स्वर्णकालको रुपमा चिनिन्छ । त्यतिबेलाका थोरै कला, वास्तुकला आज पनि पुरातात्विक सम्पदाका रूपमा जीवित छन् । इतिहासको कोशेढुंगा बन्न सक्ने कतिपय सम्पदाका भने अवशेष पनि बाँकी छैनन् । कलाकार हरिप्रसाद शर्माले लोप भइसकेका ती धरोहर समेतलाइ आकार दिइ लिच्छवीकालीन युगलाई क्यानभासमा उतारेका छन् ।  

राजा अंशुबर्माले बनाएको कैलाशकुट भवन वास्तुकलाको अदभुत नमूना भनेर इतिहासमा वर्णन गरिएको छ । इतिहास अनुसार रत्न जडित भवनका खम्बा, दलिन र मूर्तिकलाले महलको बैठक कक्षलाई भव्य देखाउँथ्यो । कलाकार हरिप्रसाद शर्माले त्यही बैठक कक्षलाई क्यानभासमा उतारेका छन् । जहाँ उनको परिकल्पनामा राजा अंशुबर्मा विदेशी पाहुनाहरुको स्वागत गरिरहेका छन् भने चिनियाँ यात्री हुयेन साङ आफूले अवलोकन गरेका कुराहरुको टिपोट गरिरहेका छन् । 

लिच्छवी राजा मानदेवले चाँगुनारायण मन्दिरमा गरुडको रुपमा आफ्नै प्रतिमूर्ति स्थापना गर्दै गर्दा आमा राज्यवती मन्दिर प्रांगणमै श्वेत वस्त्रमा वैदिक यज्ञ गरिरहेकी छन् । यस चित्रले अझै सोचमग्न बनाउँछ । कारण, बुवा धर्मदेवको निधनपछि मानदेवले नै सती जानबाट रोकेर बचाइएकी आमा हुन् यिनी । त्यति मात्र होइन, काष्ठ र धातुकलाले सजिएको मानगृह, राजा मानदेवको कलाकक्ष, त्यहाँका हात्तीसुँढे सिंहासन र उनको कला मोहलाई एउटै तस्बिरमा उतारेका छन् शर्माले ।  

राजकुमारी भृकुटीले माइती देश नेपालबाट तिब्बत लैजाँदै गरेको अक्ष्यभोबुद्ध र लोकेश्वरको मूर्ति, अनि सम्राट स्रङचङ गम्पोको भव्य दरबारमा भइरहेको समारोह एकै तस्बिरमा कोरेका छन् । कलाकारले त्यतीबेला विभिन्न प्रयोजनका लागी नेपालीले गर्ने तिब्बत यात्रा पनी चित्रण गरेका छन् ।

यी हुन्, विख्यात कलाकार अरनिको, जसले नेपाल चीन सम्बन्धमा कलाले मिठास भरिदिए । उनी ८० जना नेपाली कालिगढ सहित तीब्बत प्रस्थान गर्दै छन् । 

बुद्ध लुम्बिनीमा जन्मेको प्रमाणित गर्ने अशोक स्तम्भ बनाउँदै गरेको क्षणलाइ यसरी प्रस्तुत गरेका छन् । 

८२ वर्षअघि नेवार समुदायको घनावस्ती बीच जन्मिएका कलाकार शर्माले काठमाडौंका जात्रा, पर्व, जनजीवनदेखि राजकीय ठाँटसम्म चित्रमा उतारेका छन् । वैदिक किंवदन्तीलाई पनि उनले रङ भरेर दर्शकले बुझ्ने शैलीमा प्रस्तुत गरेका छन् ।