अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने पक्षमा ओली

भाद्र २९, २०७६

पूर्वमाओवादी खेमा र पूर्वएमालेकै माधवकुमार नेपाल पक्षले स्वास्थ्यका कारण पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने माग गर्दै आएका छन् । त्यसमा पनि ओलीले अध्यक्षको कार्यकारी भूमिका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिउन् भन्ने उनीहरुको चाहना देखिन्छ । तर पार्टीको समेत मूल नेतृत्व सम्हालेका प्रधानमन्त्री ओली भने तत्काल  दुवै पद छोड्ने मनस्थितिमा  छैनन् । उनी निकटकै नेताहरुले ओलीलाई महाधिवशनसम्म कुनै पद नछोड्न सम्झाइरहेका छन् । पार्टीले विधानबाटै दुइ अध्यक्ष प्रणाली अपनाएकोले महाधिवेशनअघि एक व्यक्ति एक पद सम्भव नभएको ओलीनिकट नेताहरुको भनाइ छ ।

प्रधानमन्त्री ओलीले उपचारका लागि सिंगापुर जानुअघि १५ महिनासम्म जेलिएको पार्टी समायोजनको काम करिब सकेका थिए । त्यति मात्रै हैन, वरिष्ठ नेता नेपालको असन्तुष्टिका बाबजुद बामदेव गौतमलाई उपाध्यक्ष चयनदेखि आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी दिएर ओलीले पार्टीमा पकड झन बलियो बनाएका छन् । त्यसलाई ओलीनिकटहरू प्रधानमन्त्री र पार्टी अध्यक्षको कमाण्ड हाँक्न उनी सक्षम रहेको भनेर अर्थ्याउँछन् । 

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुबैमा एकलौटी गरेको आरोप असन्तुष्टहरूको छ । १५ दिन सिंगापुर रहँदा समेत उनले अरूलाइ कार्यकारी भूमिका पूर्णतः दिन चाहेनन् । त्यसैले प्रधानमन्त्री ओली असन्तुष्ट पक्षले मागेकै भरमा महाधिवेशनअघि जिम्मेवारी सार्ने पक्षमा देखिन्नन्। बरु झन् शक्तिशाली बन्ने आ‌कांक्षा राखेको देखिन्छ ।