काठमाडौँको शुक्रराज अस्पतालमा बिरामीको चाप थेगी नसक्नु

भाद्र २५, २०७६

सामान्य अवस्थामा मुस्किलले डेढ दुईसय बिरामी आउने यस अस्पतालको बहिरंग विभागमा अहिले दैनिक ५ सय भन्दा धेरै बिरामी उपचारका लागि आउँछन् । अस्पतालमा भीड बढेसँगै उपचार असहज बन्दै गएको छ । अस्पतालले डेंगु उपचारकै लागि ६ स्थानमा ओपीडी सञ्चालन गरिरहेको छ। सेवा सहज बनाउन सम्पूर्ण जनशक्ति परिचालन गरिएको अस्पतालको दाबी छ । जचाउन आउने अधिकांशमा डेंगुको संक्रमण देखा परिरहेको छ । डेंगु देखिए पनि नआत्तिन, चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्न र नियमित रगत परीक्षण गराउन चिकित्सकले सल्लाह दिइरहेका छन् । चार महिनाअघि धरानबाट सुरु भएको डेंगुले प्रकोपको रुप लिइरहँदा आम जनमानसमा  त्रास सिर्जना गरेको छ । ज्वरो आउने, टाउको दुख्ने, आँखाका गेडी दुख्ने, शरीरमा बिमिरा देखिनेजस्ता लक्षण देखिए तुरुन्त उपचार गरिहाल्न चिकित्सकको सुझाव छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सोमबारमात्र उपचारका लागि आएका ४ सय ४६ विरामी मध्ये ३ सय ११ मा डेंगु देखा परेको थियो । संक्रमण जति तीब्र रुपमा फैलिँदै छ, डेंगु सार्ने लामखुट्टे नियन्त्रणका लागि भने सरकारी स्तरबाट पर्याप्त पहल नहुनु आफैमा विडम्बनापूर्ण छ । त्यसैले पनि घर, कार्यालय लगायतका परिसर सफा र लामखुट्टेरहित बनाई सजग रहनु आवश्यक छ ।