प्रधानसेनापति पूर्णचन्द्र थापाले गरे सम्पत्ति विवरण सार्वजनिक

भाद्र २५, २०७६

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा मंगलबार उच्च सैन्य अधिकृतहरुको उपस्थितिमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सेना राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन हो । यही बहानामा यसअघिका प्रधानसेनापतिले सम्पत्ति विवरण सार्वजनिक गर्ने त परै जाअोस्, कतिपय सार्वजनिक गरिनुपर्ने कुरा समेत ढाकछो गरेका थिए । तर थापाले पारदर्शिताका लागि अाफै उदाहरण बनेर सम्पत्ति विवरण सार्वजनिक मात्र गरेनन्, संवेदनशील संगठनको नाममा सेनाभित्रको भ्रष्टाचारमा आँखा नचिम्लिने समेत प्रस्ट पारे ।

कतिपय मुलुकमा सार्वजनिक पद धारण गर्ने वा राज्यबाट तलब सुविधा लिनेले नियमित रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । तर यहाँ विलासी जीवन जिउने तर त्यसको पारदर्शी स्रोत देखाउन नसक्ने तप्का राजनीतिदेखि प्रशासन, न्यायपालिका र सुरक्षा अंगहरूमा प्रशस्त छ । सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रस्ट कानुनी व्यवस्था नहुनु अपारदर्शी अाम्दानी लुकाउने प्रमुख बहाना बनेको छ । यसअघि सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र न्यायाधीश अवधेश यादवले स्वेच्छिक रूपमा सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । तर त्यो असल अभ्यास कसैले अनुकरण गर्न अावश्यक ठानेनन् । 

सेनाकै कुरा गर्दा यहाँभित्र हुने भ्रष्टाचार अख्तियारले छानबिन गर्न पाउँदैन । तर नेतृत्व सम्हालेकै दिनदेखि प्रधानसेनापति थापाले भने अान्तरिक भ्रष्टाचार र नक्कली शैक्षिक प्रमाणपत्रधारीमाथि कारवाही थालेर राज्यका अन्य अंगलाइ समेत शिक्षा दिएका छन्  ।

प्रधानसेनापति थापाले शुद्धीकरणको पहल नियमित जारी राख्छन् कि राख्दैनन्, त्यो प्रतीक्षाकै विषय छ । तैपनि उनका यी सुरूवाती कदमले सुशासन प्रवर्द्धनको आशाचाहिं जगाएको छ । त्यसैले अन्य सुरक्षा निकाय प्रमुख, न्यायाधीश, संवैधानिक पदाधिकारी र उच्च ओहोदाका प्रशासकले पनि प्रधानसेनापतिको सिको गर्ने कि ?