दाङका सामुदायिक विद्यालय कानुनविपरित शुल्क उठाउँदै

भाद्र २४, २०७६

दाङका सामुदायिक विद्यालयहरुले नयाा शैक्षिक सत्र शुरु भएदेखि नै शुल्क उठाइरहेका छन् । सरकारले निःशुल्क शिक्षाको प्रचार गरे पनि दाङमा सञ्चालित सामुदायिक विद्यालयले विभिन्न बहानामा शुल्क असुलिरहेका हुन् । अधिकांश सरकारी विद्यालयले भर्ना शुल्कसमेत लिएको पाइएको छ । संविधान र शिक्षा ऐनको प्रावधानविपरीत सामुदायिक विद्यालयले माध्यमिक शिक्षामा पनि शुल्क उठाइरहेको अभिभावकले गुनासो छ ।

दाङमा रहेका चार सय २६ वटा सामुदायिक विद्यालयमध्ये प्रायः सबैले कुनै न कुनै बहानामा शुल्क उठाउने गरेका छन् । दैनिक कार्यालय सञ्चालन र निजी स्रोतका शिक्षकको खर्च व्यवस्थापनका लागि शुल्क लिएको विद्यालयहरुले जनाएका छन् । यसबाहेक कतिपय विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गरेको बहानामा पनि विद्यार्थीबाट रकम असुलिरहेका छन् ।

सामुदायिक विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक संख्या कम भएकाले पनि सहयोग रकम उठाउनु परेको उनीहरुको भनाइ छ । अभिभावकवाट आउने यस्तो गुनासोलाई विद्यालयहरुले शिक्षक दरबन्दी र गुणस्तरीय शिक्षाका लागि रकम आवश्यक भएको उल्लेख गरेका छन् ।

सामुदायिक विद्यालयहरुले विभिन्न शिर्षकमा खुलेआम रकम लिने गरेका भए पनि नियमनकारी निकाय भने मौन छ । 

माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई छ । तर स्थानीय सरकारले पनि सामुदायिक विद्यालयहरुको मनोमानी रोक्न कुनै कदम चालेका छैनन् ।