खेलकुदका पदाधिकारी तथा सदस्यले परिषद या खेल स‌ंघमध्ये एक मात्रै रोज्नुपर्ने

श्रावण २९, २०७६

खेलकुद क्षेत्रको विकृति न्यून गर्न भन्दै ल्याइएको विधेयकले परिषद्का वहालवाला पदाधिकारी, कर्मचारी तथा प्रशिक्षकलाई खेल संघको कुनैपनि पदमा बस्नबाट बन्देज गरिएको छ । त्यति मात्रै हैन, दुइतिर पद ओगटेको प्रमाणित भए त्यस्तो संघले बैधता पाउने छैन् भने दोहोरो जिम्मेवारी लिने पदाधिकारी, सदस्य, कर्मचारी तथा प्रशिक्षकलाई कार्वाहीको प्रस्ताव गरिएको छ । 

नयाँ कानूनी व्यवस्थाले खेलकुद क्षेत्रमा पद ओगट्ने र काम पनि नगर्ने प्रवृति अन्त्य हुने अपेक्षा गरिएको छ । 

अहिले परिषदमा दर्ता भएका एक सय ८५ भन्दाबढी खेल संघहरु छन् ।  जसमा ७० जति संघमा दोहोरो भुमिकामा रहेको पाइएको छ । त्यति मात्रै हैन, केही ब्यक्ति त तेहोरो जिम्मेवारी समेत लिएका छन् । नयाँ खेलकुद विधेयक कार्यन्वयनमा आउँदा नेपाली खेलकुदका करिव ६० जनासम्म कर्मचारी, प्रशिक्षक र खेल पदाधिकारीले एउटा पद् छाड्नुपर्ने छ । 

एउटै व्यक्ति खेल क्षेत्रको नीति निर्माणको तहमा पनि बस्ने र कार्यान्वयन गर्ने ठाउँ पनि ओगट्ने प्रवृति आफैमा विरोधाभाषपूर्ण हो । त्यसैले पनि खेल क्षेत्रलाई सुधार गर्ने नयाँ विधेयकलाई छिटो पारित गरि कार्यान्वयनमा ल्याउन आवश्यक  छ ।