आगामी कार्तिकमा एकता महाधिबेशन गर्ने राजपा नेपालको तयारी

श्रावण २९, २०७६

एकता अघिका ६ दलका ६ जना अध्यक्षले पालैपालो अध्यक्षमण्डलको नेतृत्व गर्नेदेखि तोकिएको समय लम्व्याउँदै आएका राजपा नेताहरुले कार्तिक २८ देखि ३०  सम्म महाधिवेशन गर्ने निर्णय गरेका छन् । तर साउनको अन्त्यसम्म पार्टी सदस्यतादेखि प्रदेश, जिल्ला र स्थानीय तहबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने विधि र प्रकृया समेत टुङ्गो लागेको छैन् ।  

यसअघि राजनीतिक र प्रकृतिक बिपत्तिलाई मुख्य दोष दिएर महाधिवेशन छल्दै आएको राजपा नेपालले विधान नै संशोधन गरि २ बर्षको समय थपेको थियो । 

तर राजपाको महाधिवेशन लम्विनुको मुख्य कारण भने अध्यक्ष मण्डलका ६ नेताको ब्यवस्थापन कसरी गर्ने भन्नेमा कुरा नमिल्नु हो । त्यसमाथि अहिले समाजवादी पार्टीसँग एकता प्रसंग चलिरहेकोले राजपा नेपालको एकता महाधिबेशन फेरि प्रभावित हुनसक्ने आशंका स्वंय नेता कार्यकर्ता मै छ ।

एकता महाधिबेशनका लागि महन्थ ठाकुर संयोजक रहेको मुल आयोजक समिति बनाईएको छ । तर नेतृत्वभित्रको टकराव र जिल्लास्तरमा  शक्तिको हानथाप कायमै छ । यस्तो बेला समाजवादी पार्टीसँग चलिरहेको एकता प्रयासले पनि राजपाको महाधिवेशन झन पर धकेलिएमा कुनै आश्चर्य हुनेछैन् ।