घुस लेनदेनमा संलग्न तल्ला तहका कर्मचारी पक्राउ पर्न थाले

श्रावण २९, २०७६

सामान्य काममा पनि घुस दिनुपर्ने सेवाग्राहीको गुनासोपछि अख्तियारले सेवाग्राहीको भीड धेरै हुने कार्यालयलाई लक्षित गरी आफ्नै कर्मचारीलाई  मंसीरदेखि सेवाग्राहीको रुपमा पठाउन थाल्यो । जसका कारण घुस रकमसहित समातिनेको संख्या बढेको छ । दुइ वर्ष अघि ९७ स्थानबाट घुस लिने कर्मचारी समातिएकामा गत वर्ष यो संख्या २ सय पुगेको थियो । यो आर्थिक वर्षको भने एक महिना नबित्दै अख्तियारले २४ स्थानबाट  ४६ जना पक्राउ परिसकेका छन् । समातिनेमध्ये मालपोत, कर र विकासे कार्यालयका कर्मचारी धेरै छन् । घुस भनेको गैरकानुनी लेनदेन हो । थोरै लिनेलाई छोडिदिने भन्ने हुँदैन । तर अख्तियारमाथि सानो लेनदेनमा संलग्न हुने कर्मचारीलाई मात्र निशाना बनाएको तर ठूलो परिमाणमा लेनदेन गर्ने उच्च अधिकृतलाई समाउने संयन्त्र नै नबनाएको आरोप छ । हुन पनि सेवाग्राहीको भीड लाग्ने कार्यालयका तल्लो तहका कर्मचारी समातिंदा अपवादबाहेक माथिल्लो तहका कर्मचारीमाथि कार्वाही भएकै छैन । यद्यपि करिब डेढ सयको संख्यामा उच्च पदस्थ कर्मचारीमाथि भने विस्तृत छानविन त भइरहेको छ । तर टुंगोमा नपुग्दासम्म कार्वाहीबारे भन्न सकिने अवस्था  छैन । घुस लेनदेनमा संलग्न उच्च पदस्थमाथि कार्वाहीका लागि अख्तियारले  संयन्त्र परिचालन गर्न सकेको छैन । स्वार्थ समूहको पक्षमा निर्णय गराएर गैरकानुनी आर्जन गर्नेमा तल्लो तहका होइन माथिल्लो तहकै कर्मचारी र राजनीतिक तह संलग्न छ । यसैले अख्तियारले  ठूलो परिमाणमा घुस खाएर राज्यलाई हानी नोक्सानी गराउनेहरुलाई नियन्त्रणमा लिने खालको संयन्त्र परिचालनतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने देखिन्छ ।