सामुदायिक विद्यालय प्रतिविद्यार्थी दश हजार रुपैँयासम्म असुल्दै

श्रावण २, २०७६

यो ललितपुरको त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय हो । ११ र १२ कक्षामा विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा समूहको  पढाइ हुने यो सामुदायिक विद्यालयले भर्ना शुल्क भन्दै प्रतिविद्यार्थी १० हजार रुपैँयाभन्दा बढी असुल्छ । त्यसबाहेक विद्यालयले विषय अनुसार मासिक ७ सयदेखि १८ सय रुपैँयासम्म शुल्क लिन्छ । सरकारले माध्यमिक तहमा स्थायी दरबन्दी नदिँदा शैक्षिक तथा प्रशासनिक खर्च चलाउन विद्यार्थीसँग शुल्क उठाउनु परेको विद्यालयको भनाइ छ ।

संविधानले नै सरकारी स्कुलले माध्यमिक तहका लागि कुनै पनि बहानामा शुल्क लिन रोक लगाएको छ । तर देशैभरका ४ हजारभन्दा बढी सामुदायिक विद्यालयले माध्यमिक तहमा विद्यार्थीबाट भर्ना, मासिक, प्रयोगशाला, परीक्षा र पु्स्तकालय लगायत विभिन्न शीर्षकमा शुल्क असुलिरहेकै छन् । तर विद्यालय शिक्षाको सबै अधिकार पाएका स्थानीय तहदेखि शिक्षा मन्त्रालयसम्म यसबारे बेसरोकार छन् । विद्यालय शिक्षा मौलिक अधिकार समेत हो ।

तर निःशुल्क पढ्न पाउने संवैधानिक व्यवस्थाको उपहास हुँदा पनि राज्यले हस्तक्षेप गर्न सक्दैन । त्यसमाथि पर्याप्त जनशक्ति व्यवस्था र अन्य स्रोतसाधनको व्यवस्था गर्नुपर्ने दायित्वप्रति बेवास्ता गरी सरकार आफैले पनि संविधान उल्लंघनमा सघाइरहेको छ।