एमबीबीएसको प्रवेश परीक्षा अन्योलमा ।

असार ३०, २०७६

एमबीबीएस र बीडीएसको सीट संख्या र शुल्क निर्धारण तथा प्रवेश परीक्षा सञ्चालनको अधिकार तीन महिनाअघि गठन भएको चिकित्सा शिक्षा आयोगलाई मात्र छ । उपाध्यक्ष नियुक्त गर्न बाँकी रहेकाले प्रवेश परीक्षा सञ्चालन, शुल्क निर्धारण र आयोगको नियमावलीबारे सुझाव दिन सरकारले तीन महिनाअघि तीनवटा कार्यदल गठन गरेको थियो । तर न ती कार्यदलले सुझाव प्रतिवेदन बुझाएका छन् न त आयोगमा उपाध्यक्षको नियुक्ति भएको छ । जसका कारण असोजमा सुरु हुने शैक्षिक सत्रका लागि प्रवेश परीक्षा संचालन गर्ने विषयमा आयोग नै अन्योलमा छ । ऐन अनुसार विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफैँ प्रवेश परीक्षा सञ्चालन गर्न  पाउँदैनन् । यो मात्र होइन, मेडिकल कलेजका लागि सिट निर्धारणबारे पनि अन्योल यथावत छ ।

 

उता, आयोगमा कार्यकारी उपाध्यक्षका लागि  ६ जनाले आवेदन दिएका छन् । तीमध्ये तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गर्ने  तयारी भइरहेको छ । सीट निर्धारण देखि प्रवेश परीक्षा नै अन्योलमा परेकाले सरकारले आयोगको उपाध्यक्ष नियुक्तिमा अब ढिलाइ गर्नु हुँदैन ।