सावित्रा भण्डारी अर्थात साम्बा

चैत्र ७, २०७५

सावित्रा भण्डारी अर्थात साम्बा, नेपाली महिला फुटबलको मात्र होइन दक्षिण एशियाकै उत्कृष्ट स्टाइकर हुन् । पाँच वर्षअघि साफ च्याम्पियनसिपको सब्सिच्युट खेलाडी बनेर राष्ट्रिय टोलीमा डेब्यु गरेकी सावित्राले आजसम्म आइपुग्दा आफुलाई अब्बल साबित गरेकी छिन् । गोल मसिनको उपनामले समेत चिनिने उनै साम्बाले राष्ट्रिय टिमका लागि २५ गोल पुरा गरिन् । 

विराटनगरमा भइरहेको साफ च्याम्पियनसिपअन्तर्गत बुधबारको सेमिफाइनलमा श्रीलङ्काविरुद्धको खेलमा नेपालले गरेका चारमध्ये एक गोल सावित्राको नाममा रह्यो । शुरुवातबाटै श्रीलङ्काको पोस्टमा निरन्तर आक्रमण गरेकी सावित्राले खेल सकिन आठ मिनेट बाँकी हुँदा गोल गरिन् ।

२२ वर्षिया सावित्राको राष्ट्रिय टिमका लागि २६ खेलबाट यो २५ औं गोल हो । यससँगै सावित्राले दोस्रो उच्च गोलकर्ता जमुना गुरुङसँग बराबरी गरेकी छिन् । उच्च गोलकर्ताको पहिलो नम्बरमा भने ३५ गोलका साथ अनु लामा छन् । जारी साफमा नेपालले खेलेका तीनै खेलमा सावित्राले गोल गरिन् । समूह चरणमा भुटान र बंगलादेशविरुद्ध समान एक-एक गोल गरेकी थिइन् ।

सन २०१४ मा पाकिस्तानमा भएको साफमा भुटानसँगको खेलमा सावित्राले राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । ८६ औं मिनेटमा अनु लामाको स्थानमा मैदान प्रवेश गरेको दुइ मिनेटपछि सावित्राले गोल गरेकी थिइन् । २०१६ को साफमा भुटानविरुद्ध उनले डबल ह्याट्रिक नै गरिन् । लम्जुङमा जन्मिएकी सावित्रा रेफ्रि शुक्र लामाको खोज हुन् । लामाले स्थानीय प्रतियोगितामा सावित्राको प्रतिभा देखेपछि एपीएफ टिममा ल्याएका थिए । मोजाको बलबाट सुरु भएको सावित्रा आज सफलताको उचाईमा छिन् । 

सावित्रालाई अहिले महिला टिमको मेरुदण्ड मानिन्छ । धेरै समर्थक हुने नपाली महिला खेलाडीमा पर्ने सावित्राको हेयर स्टाइल, गोलपछिको सेलिब्रेसन र निडर व्यक्तित्वले पन थप पहिचान दिएको छ ।