महिला फुटबलकी पूर्वकप्तानको पूरा नभएको सपना

फाल्गुन २६, २०७५

हरेक खेलाडीको सपना हुन्छ, मैदानबाट सुखद विदा लिने । नेपाली महिला फुटबलकी पूर्वकप्तान अनु लामाले पनि त्यही सपना बोकेकी थिइन् । तर नेपालमा पहिलो पटक अयोजना हुन लागेको महिला साफ च्याम्पियनसीपलाई आफ्नो करिअरको अन्तिम अन्तर्राष्ट्रिय खेल बनाउने अनुको चाहना भने पूरा भएन ।

नेपालकै सर्वाधिक सफल महिला स्ट्राइकर अनुको सपनाले सार्थकता पाउन सकेन् । उर्जाशील डेढ दशक नेपाली फुटबललाई सुम्पेकी अनुले दुईपल्ट अन्तर्राष्ट्रिय टुर्नामेण्टमा कप्तानी सम्हाल्ने अवसर पाइन् । रौतहटको कर्मथलोबाट अघि बढेर राष्ट्रिय टिममा आएकी उनले सर्वाधिक ३५ अन्तर्राष्ट्रिय गोल मात्रै गरिनन्, नेपाली महिला फुटबललाई दक्षिण एसियामै शक्तिशाली बनाउन पनि योगदान गरेकी छन् । करिअर चम्किंदै गर्दा डेढ वर्षअघि जब उनी घाइते भईन्, उनको कम्ब्याक पनि आशालाग्दो नै थियो । अनुले यही फागुन २६ गतेबाट शुरु हुने ५ औं महिला साफलाई अन्तर्राष्ट्रिय करिअरको अन्तिम र सुखद बनाउन चाहन्थिन् । तर उनले कल्पनै नगरेको परिणाम आइदियो, अनु टिममै अटाइनन् । त्यसो त यसपालिको साफलाई नै सन्यासको सही समय ठानेकी ३१ वर्षिय अनुले आश्वासन समेत पाएकी हुन् । तर त्यो कार्यान्वयन भएन् । नेपाली महिला फुटबलमा अनुले जे जति योगदान दिइन्, त्यो घाम जत्तिकै छर्लङ्ग छ । तर जसरी अँध्यारो बहिर्गमन भयो, त्यसले उनलाई न्याय दिन सकेन । 

 

×