फेरि पुनःनिर्माण प्रभावित

आश्विन १७, २०७५

तीन वर्षअघिको भूकम्पबाट ध्वस्त नीजि आवास र अन्य भौतिक संरचनामध्य आधा पनि नबन्दै रकम अभाव हुन थालेको  छ । दातृ निकायबाट पनि प्रतिबद्धताको ७५ प्रतिशत रकम नआउँदा पुननिर्माण प्रभावित हुने देखिएको छ । एक रिपोर्ट -

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार ८ लाख १० हजार ७ सय घर भत्किएकोमा ३ लाख नयाँ घर बनेका छन् ।  २ लाख ६० हजार घर बन्ने क्रममा छन् । तर पछि थपिएका सहित अझै अढाई लाखले घर बनाउन सुरु नै गरेका छैनन् । अनुदान सम्झौता भए पनि पीडितको खातामा पैसा नपुग्दा काम अलपत्र छ । 

नीजि आवासबाहेक विद्यालय, स्वास्थ्य चौकी लगायत सरकारी संरचना र अन्य सम्पदा पनि बन्ने क्रममै छन् । त्यहाँ पनि रकम अभावकै कारण स्थानीय तहले  पुनर्निर्माण अघि बढाउन सकेका छैनन् । 

भूकम्पबाट क्षतिग्रस्त  संरचना निर्माणमा प्राधिकरणले अहिलेसम्म साढे ३ खर्ब खर्च गरेको छ  । पुननिर्माणमा आठ खर्ब ३८ अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक आकलन थियो । तर पिडितको संख्या बढेको र अनुदान रकम दुई बाट ३ लाख पुर्याइएकोले थप एक खर्ब चाहिने भयो । त्यो रकम कसरी जुटाउने भन्ने अहिलेसम्म टुङ्गो छैन । यो सहित पुनर्निर्माणको सबै काम पुरा गर्न अझै ६ खर्ब रुपैयाँ आवश्यक पर्छ । 

खर्च बढ्दो तर दाताले बाचा गरे बमोजिम पैसा नदिएकोले पनि  पुनर्निर्माणका लागि रकम अपुग हुने अवस्था छ । सुस्तगतीमा काम भैरहँदा अहिलेसम्म त जसोतसो लाभग्राहीले रकम पाइरहेका छन् । तर द्रुत गतिमा काम हुनेबेला रकम अभाव हुँदा फेरि पुनःनिर्माण प्रभावित हुनेछ।