सिंहदरबार पुनर्निर्माण विवाद पुनः बल्झियो

भाद्र ७, २०७५

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत फेरिएसँगै मुलुकको प्रमुख प्रशासकीय भवन पुनःनिर्माणबारे पनि फरक फरक निर्णय भएका छन् । प्राधिकरणमा सुशील ज्ञवालीको पुनरागमनसँगै भूकम्पबाट क्षतिग्रस्त सिंहदरबार पुनर्निर्माण विवाद पुनः बल्झिएको छ । 

सय बर्षभन्दा पुरानो राणाकालीन सिंहदरबारको यो मुख्य मोहोडा खट बाँधेर राखेको एक वर्ष भयो । भूकम्पले बढी क्षति पुगेपछि कला–वास्तुकला संरक्षण र अध्ययनका लागि पनि यो भवनको  रेक्ट्रोफिटिङ अर्थात् सबलीकरण गरेर जोगाउनुपर्ने पुरात्वविदको जोड छ । तर प्राधिकरणका सिइओपिच्छेका फरक निर्णयले मुलुकको केन्द्रीय प्रशासकीय भवन अझै कहिलेसम्म यसरी छोपिरहनुपर्ने हो, अनिश्चित छ। पहिलो पटक सुशील ज्ञवाली सिइओ बन्दा पुरै भत्काएर नयाँ बनाउने भनिएको थियो । त्यसपछिका सीइअो गोविन्द पोखरेलको पालामा सबलीकरण गर्ने भनियो । ज्ञवाली फेरि अाएपछि रेक्टोफिटिङ गर्न मिल्ने हो कि होइन भन्ने प्रश्न उठाइएको छ ।  

पुरै भत्काएर नयाँ बनाउने कि पुरानो संरचना जोगाउने भन्ने विवाद पुरानै हो । अध्ययन समिति प्रमुख कार्यकारीको चाहनाभन्दा  फरक सुझाव दिन्छ कि दिँदैन, त्यो अर्को पक्ष छ । दरबार भत्काएर पुरानै स्वरुपमा बनाए  त्यहाँ निर्मित विश्वकै दुर्लभ कलाकृति  मासिने भने निश्चित छ ।

सिंहदरबारको मुख्य मोहोडा बाहेक अन्य भागको रेक्टोफिटिङ भैरहेको छ । विवादमा आएको भने २०३० सालको आगलागीबाट बचेको भाग हो । राणा प्रधानमन्त्री चन्द्र शमशेरले चुना, सुर्की, मासको दाल लगायतको मिश्रणबाट तयार गरिएको बज्रबाट लिउन लगाइ विसं‌ १९६९ सालमा युरोपेली शैलीमा निर्माण गरेका थिए । यो एैतिहासिक संरचना संरक्षण र पुनर्निर्माणको शैलीकै विवादमा अझै कति समय बिताउने ?