वैशाख १२, २०७५
कुनै समय ढुङ्गाको छानो र ढुङ्गाकै गारोले बनेको परम्परागत शैलीको बस्ती गोरखा बारपाकको पहिचान थियो । त्यही बारपाक केन्द्रविन्दु बनेर २०७२ वैशाख १२ गते गएको भूकम्पले त्यहाँ निर्मित पूरानो शैलीका घर इतिहास बनाइदियो । पुनर्निर्माणका क्रममा आधुनिक पक्की घर बनेपछि अहिले बारपाकको मौलिकता बद्लिएको छ ।
हजुरबुवाले बनाउनुभएको ढुङ्गामाटोको घर भूकम्पले भत्किएपछि सुलीकोट गाउापालिका वडा नं २ बारपाकका धनप्रसाद घलेले अहिले रड, सिमेन्ट र इट्टाको प्रयोगबाट पक्की घर बनाउनु थाल्नुभएको छ ।
परम्परागत घर बाहेक भूकम्प जानुअघि बारपाकमा बनेका एकाध पक्की घरमा क्षति नभएको देखेपछि घले जस्तै अधिकांश भूकम्पपीडितले अहिले रड, सिमेन्ट र इट्टाको प्रयोगबाटै पक्की घर बनाइरहेका छन् । परम्परागत शैलीका घर अब वारपाकमा पाइदैनन् ।
पुनर्निर्माणका क्रममा पक्की घर बन्न थालेपछि बारपाकको परम्परागत स्वरुप फेरिएको छ । बारपाकमा चार सयको हाराहारीमा पक्की घर बनिसकेका छन् ।
२०७२ वैशाख १२ गते गएको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकमा ७२ जनाले ज्यान गुमाएका थिए भने एक हजार तीन सय घर भत्किएका थिए । भग्नावशेष बनेको वारपाक अहिले पुनर्निर्माणको अभियानमा अघि बढेको छ ।