सैन्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने रुसको घोषणा

माघ ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
सैन्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने रुसको घोषणा

मस्को । युक्रेनमा जारी युद्धमा अपेक्षित नतिजा निकाल्न नसकेको रुसले सन् २०२३ देखि २०२६ को अवधिमा सैन्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने घोषणा गरेको छ ।

गत हप्ता सैन्य जनरल भ्यालेरी जेरासिमोभलाई युक्रेन युद्धको जिम्मेवारी दिएसँगै रुसले यस्तो घोषणा गरेको हो । रक्षा मन्त्री सर्गेइ शोइगुले सैन्य संरचनामा परिवर्तन गर्ने, प्रशासनिक सुधार गर्ने र मस्को सशस्त्र सेना तथा लेनिनग्राड सैन्य क्षेत्रलाई नयाँ रुप दिने बताए ।

पश्चिमी मुलुकहरुले युक्रेनको नाममा रुसमाथि गरेको प्रोक्सी वारका कारण परिवर्तन जरुरी भएको क्रेमलिन प्रवक्ता डिमिट्री पेस्कोभले बताएका छन् । गत फेब्रुअरीमा युद्ध सुरु भएयता अमेरिका र बेलायत लगायत मुलुकले युक्रेनलाई अर्बौको हतियार दिएका छन् । रुसी रक्षा मन्त्रालयले डिसेम्बरमा आफ्नो सैन्य क्षमता १५ लाख बनाउने प्रतिबद्धता जनाएको थियो । 

गत शुक्रबार रुसले युक्रेनको दोनेत्स्कस्थित सोलेदार शहर कब्जा गरेको दाबी गरेको थियो । जसलाई युक्रेनले खण्डन गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.