तराईमा ७ मिनेटमा पुग्छौं, पहाडमा हेलिकोप्टर तैनाथ छ : प्रहरी महानिरीक्षक सिंह (अन्तर्वार्ता)

मंसिर २, २०७९ |रमेश धमला
तराईमा ७ मिनेटमा पुग्छौं, पहाडमा हेलिकोप्टर तैनाथ छ : प्रहरी महानिरीक्षक सिंह (अन्तर्वार्ता)

काठमाडौं । आमनिर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले निर्वाचनको सुरक्षा व्यवस्था बलियो बनाएको प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बताएका छन् ।

कुनै पनि ठाउँमा थप सुरक्षाकर्मी चाहिएमा तराईको जुनसुकै ठाउँमा ७ मिनेटमै पुग्ने गरी व्यवस्था मिलाइएको महानिरीक्षक सिंहले कान्तिपुर टेलिभिजनलाई बताए ।

‘तराईमा हामी ७ मिनेटमा थप बल पठाउन सक्छौं । सातै प्रदेशमा हेलिकप्टर तैनाथ राखिएका छन्’ सिंहले भने, ‘पहाडी जिल्लामा आधा घण्टादेखि ४५ मिनेटको बीचमा थप सुरक्षा बल पुग्नेछ ।’

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सुरक्षा व्यवस्थाबारे कान्तिपुरसँग कुरा गर्दै सिंहले ढुक्क भएर मतदानमा भाग लिन मतदातालाई आग्रहसमेत गरे ।

चारवटा अवस्थामा प्रहरीले माथिल्लो आदेश नपर्खिकन अधिकतम बल प्रयोग गर्न सक्ने सिंहले बताए । उनले बताएका चार अवस्था–

एक– सुरक्षाकर्मीमाथि आक्रमण गरी हात हतियार खोस्न खोजेमा ।

दुई– मतदान स्थलमा खटिएका कर्मचारीमाथि आक्रमण गरिएमा ।

तीन– मतपेटिका माथि आक्रमण गरी क्षति पुर्याउन खोजिएमा ।

चार– भाडाका अपराधीहरु घुसपैठ गरेर मतदान प्रक्रिया बिथोल्ने प्रयास गरिएमा ।

गृहमन्त्रालयले तयार पारेको सुरक्षा योजनामा अति सम्वेदनशील, संवेदनशील र सामान्य क्षेत्र वर्गीकरण गरिएको जानकारी दिँदै सिंहले ती स्थान कुन–कुन हुन् भनेर अहिले नै बताउन नमिल्ने स्पष्ट पारे ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।