
काठमाडौं । मध्य फिलिपिन्समा आएका विनाशकारी आँधी 'कलमेगी' का कारण मृत्यु हुनेको संख्या १ सय ४० पुगेको छ । फिलिपिन्सका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको र १ सय २७ जना अझै बेपत्ता भएको जनाइएको छ । यो आँधी अहिले भियतनामतर्फ अघि बढिरहेको छ ।
आँधीले सबैभन्दा बढी सेबु प्रान्तमा क्षति पुर्याएको छ भने तटीय क्षेत्रका भवन, सवारीसाधनदेखि ठूला कन्टेनरसम्म बगाएको छ । बाढीले जनजीवन पूर्ण रुपमा अस्तव्यस्त बनेको छ । राष्ट्रिय नागरिक सुरक्षा कार्यालयले बिहीबारसम्म १ सय १४ जनाको मृत्यु भएको पुष्टि गरे पनि प्रान्तीय अधिकारीहरुले थप २८ जना मृत्यु भएको जनाएपछि कूल संख्या १ सय ४० पुगेको हो । बाढी र डुबान प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्य जारी छ ।
राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रिय विपत्तिको अवस्था घोषणा गर्दै राहतका लागि सरकारी कोष स्थापना गर्न र आवश्यक सामग्रीहरुको मूल्यमा सीमा तोक्न निर्देशन दिनुभएको छ ।
आँधी भियतनामतर्फ अघि बढ्दै गएको छ भने त्यहाँ ८ मिटरसम्म अग्लो छाल र भारी वषर्ा हुने पूर्वानुमान गरिएको छ । भियतनाम सरकारले कलमेगीले निम्त्याउन सक्ने क्षति न्यूनीकरणको पूर्वतयारीका लागि कदम चाल्न निर्देशन दिएको छ । यस्तै, तटीय क्षेत्रका हजारौं बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सार्न आदेश दिइएको छ।