अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको क्यानडाका प्रधानमन्त्री कार्नीको उद्घोष

चैत्र १५, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको क्यानडाका प्रधानमन्त्री कार्नीको उद्घोष

काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको उद्घोष गर्नु भएको छ । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अमेरिकासँगको सैन्य सुरक्षादेखि आर्थिक सम्बन्ध पनि सकिएको बताउनुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिको नीतिले क्यानडाको अर्थतन्त्र प्रभावित भएको र आर्थिक गतिविधि बढाउन क्यानडाले निकै प्रयास गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

बुधबार मात्रै ट्रम्पले आयातित सवारी साधन र सवारी पार्ट्समाथि २५ प्रतिशत स्थायी कर लगाउने घोषणा गर्नुभएको थियो । लिबरल पार्टीका नेता समेत रहेका कार्नीले १९६५ मा हस्ताक्षर भएको क्यानाडा-अमेरिका अटोमोटिव उत्पादन सम्झौता विपरित अहिले स्थायी कर लगाइएको बताउनुभयो ।

कार्नीले अर्को महिना हुने निर्वाचनमा आयात शुल्कहरूको सामना गर्न सक्ने गरि आफ्नो अभियान योजनामा परिवर्तन समेत गर्नुभएको छ । अमेरिकाले पहिले नै क्यानाडाका सामानहरूमा २५ प्रतिशतको कर लागू गरेको छ । 

साथै सबै एल्युमिनियम र स्टील आयातमाथि पनि थप २५ प्रतिशत शुल्क लगाएको छ । व्हाइट हाउसका अनुसार नयाँ सवारी साधन ट्यारिफहरू २ अप्रिलबाट लागू हुनेछन् । सवारी साधन आयात गर्ने व्यवसायहरूका लागि अर्को दिनदेखि शुल्क लागू हुनेछ । पार्ट्समाथि करहरू मे वा त्यसपछि लागू हुनेछन्।