काठमाडौं । युरोपेली संघले इराक, लिबिया र अफगानिस्तानको जस्तो स्थिति आउन नदिन सिरियाका विद्रोही सेनालाई आग्रह गरेको छ । संघको विदेश नीति प्रमु्ख काजा कल्लासले युरोपेली संसदको विदेश मामिला समितिलाई सम्बोधन गर्दै सिरियामा आन्तरिक द्वन्द्वको स्थिति आउन नदिन सचेत गराउनु भएको हो ।
सिरियामा बसर अल-असादको पतनपछि सत्ताका लागि चलिरहेको द्वन्द्व विपक्षी गुटबीचको बदला र प्रतिशोधमा परिणत हुन नहुने उहाँले स्पष्ट पार्नुभएको हो । उहाँले विद्रोही सेनालाई सिरियाका अल्प संख्यकको संरक्षण र धार्मिक स्वतन्त्रताको रक्षा गर्न पनि आह्वान गर्नुभएको छ । सिरियामा साम्प्रदायिक हिंसा, चरमपन्थी, कट्टरपन्थी र आतंकवादको निरन्तर जोखिमलाई रोक्नु पर्ने विषयमा कल्लासको जोड छ ।
यसैबीच इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले अमेरिका र इजरायलले सिरियाको असाद सरकारलाई हटाएको आरोप लगाउनुभएको छ । त्यसको आफूसँग पर्याप्त प्रमाण रहेको उल्लेख गर्दै उहाँले सिरियामा भएको घटनाका कारण इरान कमजोर नहुनेसमेत स्पष्ट पार्नुभएको छ ।
यस्तै कतारले सिरियाको दमास्कसमा एक दशकदेखि बन्द रहेको कतारी दूतावासलाई पुनः सञ्चालनमा ल्याउने जनाएको छ । सिरियामा अन्तरिम प्रधानमन्त्री नियुक्त भएपछि कतारले यस्तो योजना बनाएको कतारका प्रधानमन्त्रीका सल्लाहकार माजिद अल अन्सारीले जानकारी दिनुभएको छ ।
यस्तै सिरियाली विद्रोही सेनाले अमेरिकासमर्थित कुर्दिश सेनाको कब्जामा रहेकेा पूर्वी सहर दियार अल-जोरस्थित तेल भण्डारलाई पूर्ण नियन्त्रणमा लिएको जनाएको छ ।