सिरियाको मुख्य तेल भण्डार रहेको पूर्वी सहर दियार अल–जोर सिरियाली विद्रोही सेनाको नियन्त्रणमा

मंसिर २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिरियाको मुख्य तेल भण्डार रहेको पूर्वी सहर दियार अल–जोर सिरियाली विद्रोही सेनाको नियन्त्रणमा

काठमाडौं । सिरियाली विद्रोही सेनाले राजधानी दमास्कससहित अन्य मुख्य सहर आफ्नो नियन्त्रणमा लिएपछि देशको कच्चा तेल भण्डारको मुख्य स्रोत मानिने पूर्वी सहर दियार अल–जोरलाई पनि नियन्त्रणमा लिएको बताएको छ ।

सिरियाका पूर्वराष्ट्रपति बसर अल–असदलाई सत्ताबाट हटाएपछि विद्रोही सेनाले अहिले देशको स्रोतसाधन कब्जा गर्न खोजिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विद्रोही सेनाले देशको स्रोतसाधन सुरक्षित राख्न नियन्त्रणमा लिइएको जनाएको छ ।

विद्रोही सेनाको मुख्य इस्लामवादी समूह हयात तहरीर अल–शाम्स (एचटीएस) का वरिष्ठ कमाण्डर हसन अब्दुल–घानीले लडाकुहरुले सहर र त्यहाँको सैन्य विमानस्थललाई अमेरिकी समर्थित कुर्दिश सेनाको कब्जाबाट मुक्त गराएको बताउनुभएको छ ।

कच्चा तेल भण्डार रहेको पूर्वी सहर दियार अल–जोरलाई राष्ट्रपति असदको सेना पछि हटेपछि अमेरिकी समर्थित कुर्दिश सेनाले नियन्त्रणमा लिएको थियो । तर, आज भने कुर्दिश सेनाको कब्जामा रहेको उक्त सहरलाई मुक्त गराउँदै आफ्नो नियन्त्रणमा लिएको बताएको छ ।

विश्वभर चलिरहेको युद्धको निगरानी गर्ने बेलायती संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले यसअघि उक्त सहर कुर्दिश सेनाको कब्जामा रहेको तर अहिले ती सेना पछि हटेको बीबीसीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement