दक्षिण कोरियाका राष्ट्रपतिद्वारा ‘मार्शल ल’ लागु नगर्ने प्रतिबद्धता व्यक्त, जनतासँग मागे माफी

मंसिर २२, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
दक्षिण कोरियाका राष्ट्रपतिद्वारा ‘मार्शल ल’ लागु नगर्ने प्रतिबद्धता व्यक्त, जनतासँग मागे माफी

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलले गत मंगलबार अप्रत्याशितरूपमा सैन्य कानुन अर्थात् ‘मार्शल ल’ लागु गरेको विषयमा अन्ततः माफी माग्नुभएको छ ।

राष्ट्रपति युनले सबैभन्दा कम समयका लागि मुलुकमा घोषणा गरेको ‘मार्शल ल’ पछि आज पहिलोपटक टेलिभिजनमार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै जनतालाई अनावश्यक चिन्ता थपिदिएको भन्दै माफी माग्नुभएको हो ।

उहाँले अर्को ‘मार्शल ल’ लागु नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ । आज संसद्‍मा ६ विपक्षी दलले राष्ट्रपति युनको कदमविरुद्ध दर्ता गरेको महाभियोगको पक्ष मतदान हुनु पहिले राष्ट्रपतिले माफी माग्नुभएको हो । तर, पदबाट राजीनामा दिने विषयमा भने उहाँले केही बताउनुभएको छैन ।

सम्बोधन सकिएलगत्तै सत्तारुढ दल पिपल्स पावर पार्टी–पीपीपीका अध्यक्ष हान डोङ्ग हानले राष्ट्रपतिले माफी मागेपनि उहाँले आफ्नो कार्यकाल जारी राख्न असम्भव रहेको प्रतिक्रिया दिनुभएको छ । हिजो सत्तारुढ पीपीपी ले राष्ट्रपतिविरुद्ध ल्याइएको महाभियोग प्रस्तावको पक्षमा उभिने संकेत गरेको थियो । बिहिबारसम्म राष्ट्रपतिविरुद्धको महाभियोगको विपक्षमा उभिने भन्दै आएको ‘पीपीपी’ ले यू टर्न लिँदै पक्षमा उभिने बताएको थियो ।

राष्ट्रपतिविरुद्ध संसदमा दर्ता गराएको महाभियोग प्रस्तावमाथि आज मतदान हुँदैछ । महाभियोग प्रस्ताव पारित हुन संसदको दुई तिहाइ मत चाहिनेमा विपक्षी दलहरुसँग जम्मा आठ मत कम छ । सत्तारुढ दलसमेत महाभियोगको पक्षमा उभिएको अवस्थामा सो प्रस्ताव पारित हुने छ ।

यूनले मंगलबार मध्यरातमा देशमा ‘मार्शल ल’ लगाएको घोषणा गर्नुभएको थियो । ६ घण्टाभित्रै सो घोषणा फिर्ता लिनुभएको थियो ।



Enter Kantipur TV HD
Advertisement