बेलायत र इराकबीच गैरकानुनी आप्रवासन रोक्नेसम्बन्धी सुरक्षा सम्झौतामा हस्ताक्षर

मंसिर १४, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
बेलायत र इराकबीच गैरकानुनी आप्रवासन रोक्नेसम्बन्धी सुरक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौं । बेलायत र इराकबीच सुरक्षा सम्झौता भएको छ । इराक भ्रमणमा रह्नुभएका बेलायतका आन्तरिक मन्त्री इभेट कुपरले इराकसँग गैरकानुनी आप्रवासनलाई रोक्नेसम्बन्धी सुरक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मानव तस्करी गर्ने गिरोह र सीमामा सहयोग अभिवृद्धि गर्ने उद्देश्यले दुई देशबीच सुरक्षा सम्झौता भएको हो । आन्तरिक मन्त्री कूपरले तस्करी गिरोहले इराक र कुर्दिस्तान क्षेत्रबाट मानिसलाई साना डुङ्गाको माध्यमबाट युरोप पुर्याइरहेकाले उक्त सम्झौता अपरिहार्य रहेको बताउनुभएको छ ।

मावन तस्करले इराक र कुर्दिस्तान क्षेत्रबाट मानिसहरुलाई उत्तरी फ्रान्स र जर्मनी हुँदै युरोप पुर्याइरहेका कारण त्यसलाई रोक्न दुई देशले उक्त सम्झौता गरेको जनाइएको छ ।

इराक र कुर्दिस्तान क्षेत्रको भ्रमणका क्रममा कूपरले इराकी बोर्डर फोर्स कमाण्डको भ्रमण गर्नुका साथै पुलिस क्याडेट कलेज समारोहमा भाग लिनुभएको बताइएको छ । साथै कुपरले कुर्दिस्तान क्षेत्रका राष्ट्रपति नेचिरवान बरजानीसँग पनि भेटवार्ता गर्नुभएको छ ।

बेलायतले लागुऔषध तस्करी लगायतका गम्भीर संगठित अपराधविरुद्ध लड्न इराकी कानून सुदृढ बनाउन सहयोग गर्ने वाचासमेत आन्तरिक मन्त्री कुपरले गर्नुभएको रोयटर्सले जनाएको छ ।

सम्झौता पछि बेलायती प्रधानमन्त्री केयर स्टार्मरले आफ्नो सरकारले मुलुकको प्रवेश विन्दूमा सुधार सहित आप्रवासन कम गर्ने योजना सार्वजनिक गर्ने बताउनुभएको छ ।

स्टार्मरले आधिकारिक कडा भिसा नियमका कारण बैध रुपमा बेलायत प्रवेश गर्नेको संख्या कम भए पनि सन् २०२३ मा बेलायतमा अवैध रुपमा प्रवेश गर्नेको संख्या अधिक रहेको बताउनुभएको छ । सन् २०२३ मा अवैध रुपमा प्रवेश गर्नेको संख्या ९ लाख पुगेको तथ्यांकले देखाएको उहाँको भनाइ छ । स्टार्मरले इराकसँग नयाँ सुरक्षा सम्झौताले मानव तस्करी गर्ने गिरोह र सीमा सहयोगलाई बलियो बनाउने लक्ष्य राख्ने स्पष्ट पार्नुभएको छ ।



Enter Kantipur TV HD
Advertisement