अमेरिकी निर्वाचन अपडेट : फ्लोरिडामा ट्रम्पको जित, अन्य राज्यमा के छ अवस्था ?

कार्तिक २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी निर्वाचन अपडेट : फ्लोरिडामा ट्रम्पको जित, अन्य राज्यमा के छ अवस्था ?

काठमाडौं । विश्वको महाशक्ति मुलुक अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि हिजो रातिदेखि सुरु भएको मतदान ४० भन्दा बढी राज्यमा सम्पन्न भएको छ । स्वीङ स्टेट जर्जिया, नर्थ क्यारोलाइना त्यसैगरी इन्डियाना, केन्टिकी राज्यमा मतदान सम्पन्न भइसकेको बीबीसीले जनाएको छ ।

मतदान सम्पन्न भएका केहि स्थानमा मतगणना समेत जारी छ । प्रारम्भिक मतगणनामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अगाडी देखिनुभएको छ । ट्रम्पको गृह राज्य समेत रहेको फ्लोरिडामा ट्रम्पले जित हासिल गरिसक्नुभएको बीबीसीले जनाएको छ ।

त्यस्तै स्वीङ स्टेट नर्थ क्यारोलाइनामा समेत ट्रम्पको अग्रता रहेको छ । नर्थ क्यारोलाइनामा २६ प्रतिशत मतगणना भएको छ । यसमा प्रारम्भिक रुझान अनुसार ट्रम्पले नै अग्रता लिइरहनुभएको छ । त्यस्तै जर्जियमा पनि ट्रम्पकै अग्रता छ ।

मतदान जारी रहेका राज्यहरुमा मतदान अन्तिम समयमा पुगेको बीबीसीले जनाएको छ । यो निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रर्याट उम्मेदवार कमलाबीच ह्यारिस मुख्य प्रतिस्पर्धा भइरहेको छ ।

५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी ५ सय ३८ इलेक्ट्रोरल कलेज मतमध्ये दुवै उम्मेदवारलाई जित हासिल गर्न २ सय ७० मत आवश्यक पर्छ ।

बीबीसीका अनुसार अहिलेसम्म ट्रम्पले २ सय ११ इलेक्ट्रोरल कलेजमा अग्रता लिइरहनु भएको छ । यता, ह्यारिसले १ सय ४५ इलेक्ट्रोरल कलेजमा अग्रता लिइरहनु भएको छ । ११ इलेक्ट्रारल भोट रहेको इन्डियानामा ट्रम्पले बाजी मार्ने सीएनएनको सर्वेक्षणले देखाएको छ ।

केही राज्यमा मतदान सम्पन्न भइरहँदा एक्जिट पोलको सर्वेक्षण आउन समेत सुरु भइसकेको छ । यस पटकको चुनावमा मतदाताहरुले अमेरिकी लोकतन्त्र र अर्थतन्त्रलाई विशेष प्राथमिकता दिएका छन् । अन्य मुलुकजस्तै अमेरिकामा एक्जिट पोलले निर्वाचनको भविष्यवाणी गर्दैन तर मतदाताको रोजाई कस्तो छ भन्ने विषयलाई झल्काउने गर्दछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement