इजरायलद्वारा लेबनानमा हिजबुल्लाह समूहलक्षित आक्रमण जारी

दक्षिणी लेबनान र बेका भ्यालीमा १५ जनाको मृत्यु
आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलद्वारा लेबनानमा हिजबुल्लाह समूहलक्षित आक्रमण जारी

काठमाडौं । इजरायली सेनाले पुनः लेबनानमा हिजबुल्लाह समूहलक्षित आक्रमण जारी राखेको छ । हिजबुल्लाहले आक्रमण गर्न तयार राखेका थुप्रै रकेट लञ्चर, हात हतियार भण्डारण र पूर्वाधारहरुमा आक्रमण गरेको इजरायली सेनाले जनाएको छ ।

इजरायली सेनाको आक्रमणमा हिजो हिजबुल्लाहका प्रमुख हसन नसरुल्लाह मारिएपछि आज पनि आक्रमण जारी राखेको हो । इजरायलको पछिल्लो आक्रमणमा दक्षिणी लेबनानमा ६ जना र बेका भ्यालीमा ९ जना गरी १५ जनाको मृत्यु भएको लेबनानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिकारमा लेबनानतर्फबाट र रेड सीबाट हिजबुल्लाहले थुप्रै रकेट प्रहार गरेको छ । उक्त रकेटहरु खुला क्षेत्रमा खसेको इजरायली सेनाले दाबी गरेको बीबीसीले जनाएको छ ।

यसैबीच पछिल्लो आक्रमणमा हिजबुल्लाहका वरिष्ठ अधिकारी नाविल कौउक हवाई हमलामा मारिएको इजरायली सेनाले दाबी गरेको बीबीसीले जनाएको छ । उता, हिजबुल्लाह प्रमुखको मृत्यु खेर नजाने र इजरायलले यसको मुल्य चुकाउनु पर्ने इरानले प्रतिबद्धता व्यक्त गरेको छ भन उसले तत्काल सुरक्षा परिषद्को बैठक बोलाउन समेत आह्वान गरेको बताइएको छ ।

हिजबुल्लाह प्रमुखको मृत्युपछि मध्यपूर्व तनाव ग्रस्त भएका बेला इरानले आफ्ना सर्वोच्च नेता आयातुल्लाह अली खमेनीलाई इरानभित्रै कडा व्यवस्थाका साथ सुरक्षित स्थानमा राखिएको बताइएको छ ।

त्यस्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हिजबुल्लाह प्रमुख मारिएको विषयलाई ऐतिहासिक मोड भन्नु भएको छ । साथै उहाँले आक्रमण जारी राख्ने दृढता समेत व्यक्त गर्नुभएको छ । त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडनले नसरुल्लाहको मृत्युले कयौँ पिडित परिवारले न्याय पाएको बताउनुभएको छ ।

साथै उहाँले आतंकवादी समूहबाट आफ्नो रक्षागर्न इजरायललाई अमेरिकाको पूर्ण समर्थन रहेको स्पष्ट पार्नुभएको छ । इजरायली सेनाको हवाई हमलामा लेबनानमा दुई सातामा कम्तिमा एक हजार जनाको मृत्यु भएको छ भने ६ हजार जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.