म्यानमारमा भारी वर्षाका कारण बाढी, कम्तीमा १९ जनाको मृत्यु

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
म्यानमारमा भारी वर्षाका कारण बाढी, कम्तीमा १९ जनाको मृत्यु

काठमाडौं । म्यानमारमा भारी वर्षाका कारण युद्धग्रस्त राजधानी सहर र वरपर क्षेत्रमा बाढी आएपछि कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय अग्नि सेवाका अनुसार उद्धारकर्ताहरूले ३ हजार ६ सय जनालाई डुङ्गामार्फत सुरक्षित स्थानमा लगिएको छ । अन्य मुलुकहरुमा आएको यागी आँधीले म्यानमारलाई समेत प्रभावित गरेको त्यहाँको मौसम विज्ञान विभागले जनाएको छ ।

लगातार वर्षाले निम्त्याएको बाढी प्रभावित क्षेत्रहरूमा विद्यालयहरू बन्द गरिएको छ भने बासिन्दाहरूलाई बाढीको पानीको स्तर बढ्ने चेतावनी दिँदै सुरक्षीत स्थानमा सर्न समेत आग्रह गरिएको जुन्टा-नियन्त्रित प्रसारणकर्ता एमआरटिभीले आज जनाएको हो । त्यस्तै बाढीका कारण त्यहाँको रेल सेवा समेत प्रधावित भएको बताइएको छ ।

संयुक्त राष्ट्र संघ-समर्थित म्यानमार सूचना व्यवस्थापन इकाईद्वारा स्याटेलाइट इमेजरी विश्लेषण अनुसार राजधानी वरपरको लगभग १ सय ६२ वर्ग किलोमिटर क्षेत्रमा बाढी आएको थियो । म्यानमारको दोस्रो ठूलो सहर मण्डले वरपर करिब ३ सय ६६ वर्ग किलोमिटर क्षेत्र डुबानमा परेको देखाएको छ ।

म्यानमारका ५ करोड ५५ लाख जनसंख्यामध्ये एक तिहाइलाई मानवीय सहायता चाहिएको तर सहायता एजेन्सी जस्तै रेड क्रसको अन्तर्राष्ट्रिय समितिलाई सहायता पहुँचमा प्रतिबन्ध लगाइएको र सुरक्षा जोखिमका कारण बाढी प्रभावित क्षेत्रमा काम गर्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस वर्ष एसियामा सबैभन्दा शक्तिशाली आँधी तुफान यागीले ल्याएको प्रतिकूल मौसमले भियतनाम र थाइल्यान्डमा २ सय ३० जनाभन्दा बढीको ज्यान लिइसकेको छ भने नदीमा आएको बाढीले दुवै देशका सहरहरू डुबानमा परेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement