आरक्षण विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि बंगलादेशमा अनिश्चितकालीन कर्फ्यू

आरक्षणविरोधी हिंसात्मक झडपमा अहिलेसम्म १०४ जनाको मृत्यु
श्रावण ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
आरक्षण विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि बंगलादेशमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं । बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन थप हिंसात्मक बन्दै गए पछि कर्फ्यु जारी भएको छ । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाका प्रेस सल्लाहकार नयीमुल इस्लाम खानले कर्फ्यू जारी गरिएको विषय जनाकारी गराएका हुन् ।

प्रहरी विद्यार्थीहरुको प्रदर्शनलाई रोक्न प्रहरी असफल भएपछि त्यहाँको सरकारले गतिविधिमाथि नियन्त्रण गर्न सैनिकलाई सडकमा उतारेको छ । एएफपी अनुसार प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच भएको हिंसात्मक झडपमा अहिलेसम्म एक सय चार जनाको ज्यान गइसकेको छ । हिंसात्मक विरोध प्रदर्शनको क्रममा भने कयौँ व्यक्ति घाइते समेत भएका छन् ।

हिजो प्रदर्शनकारीहरुले बांगलादेशका विभिन्न सरकारी कार्यालय, राष्ट्रिय विपद् व्यवस्थापन कार्यालय र थुप्रै स्थानमा अगाजनी गर्दै देशव्यापी प्रर्दशनलाई जारी रोखको छ । त्यसैगरी प्रदर्शनकारीले सरकारी टेलिभिजन बीटीभीको कार्यालयमा आगजनी गरेका थिए । प्रदर्शनकारी आगजनी गरेपछि उक्त टिभीले आफ्नो प्रशारण समेत गर्न सकेको छैन् ।

केहि मिडिया आउटलेटको कार्यालयमा क्षति पुगेको कारण उनीहरुले आफ्नो सामाचार समेत अपडेट गर्न सकेका छैनन् । त्यसैगरी देशभरका फोन र इन्टरनेट सेवा समेत पूर्ण बन्द गरिएको छ भने एक समूहले बंगलादेशको केन्द्रीय बैंक, प्रधानमन्त्री कार्यालय र प्रहरीको वेबसाइट समेत ह्याक गरेको छ । सरकारले प्रदर्शनकारी विद्यार्थीहरुलाई वार्ताका लागि आह्वान गरे पनि उनीहरुले त्यसलाई अस्वीकार गरेका छन् । वार्ता गर्न अस्वीकार गर्दै त्यहाँ अन्दोलन र हिंसा बढ्दै गएको बताइएको छ ।

आन्दोलन चर्केपछि ढाकास्थित नेपाली दूतावासले सुरक्षित रहन र आफ्नो स्थानबाट बाहिर ननिस्कन सबै नेपाली विद्यार्थीलाई आग्रह गरेको छ । गत बुधबार प्रधानमन्त्री शेख हसिनाले राष्ट्रको नाममा सम्बोधन गर्दै प्रदर्शनाकारीलाई अदालतको निर्णय नआएसम्म धैर्य गर्न आग्रह गरेपछि प्रदर्शनकारीहरुले आन्दोलनलाई थप हिंसात्मक बनाएका छन् । प्रदर्शन चर्कँदै जाँदा त्यहाँका शिक्षा मन्त्रालयले बुधबारदेखि सबै सरकारी तथा निजी संस्थालाई अनिश्चितकालका लागि बन्द गरेको छ ।

स्वन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा गरिएको ३० प्रतिशत आरक्षणको व्यवस्था खारेज गर्न माग गर्दै विद्यार्थीहरुले केही दिनदेखि विरोध प्रदर्शन गर्दै आएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.