भारतको उत्तरपूर्वी राज्य मणिपुरका ११ मतदान केन्द्रमा आज पुनः मतदान हुँदै

मतदान केन्द्रहरुमा हिंसा भड्किन नदिन सुरक्षा व्यवस्था कडा
वैशाख १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतको उत्तरपूर्वी राज्य मणिपुरका ११ मतदान केन्द्रमा आज पुनः मतदान हुँदै

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरका ११ मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको छ ।

भारतको निर्वाचन आयोगले यसअघि १९ अप्रिलमा ती केन्द्रमा भएको मतदान रद्द गरेको थियो । ती एघार मतदान केन्द्रमा जातीय द्वन्द्व, हिंसा, दंगा, ईभीएम र चुनावी मेसिनमा क्षति पुगेपछि मतदान रद्द गरेर आजका लागि पुनः मतदान तोकिएको हो । मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

इम्फाल पूर्वी जिल्लामा सात र इम्फाल पश्चिम जिल्लामा चारवटा मतदान केन्द्रहरू आज मतदान जारी छ ।

ती मतदान केन्द्रहरूमा आज थप सुरक्षा व्यवस्था मिलाइएको छ । विपक्षी कंग्रेस पार्टीले मणिपुरका ४७ मतदान केन्द्रहरुमा बुथ कब्जा भएको र चुनावमा धाँधली भएको आरोप लगाएको छ ।

भारतमा जारी लोकसभा निर्वाचनमा ९७ करोड नागरिकले मतदान गर्ने छन् । दोस्रो चरणको मतदान २६ अप्रिलमा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.