पाकिस्तानमा संसदीय निर्वाचन : पूर्वप्रधानमन्त्री शरिफले थाले सरकार निर्माणको पहल

स्वार्थ छाडेर सुशासनमा लाग्न सेनाको सुझाव
माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानमा संसदीय निर्वाचन : पूर्वप्रधानमन्त्री शरिफले थाले सरकार निर्माणको पहल

काठमाडौं । पाकिस्तानमा बिहीबार सम्पन्न संसदीय निर्वाचनको एक सिटबाहेक सबै स्थानको परिणाम सार्वजनिक भएको छ । विवाद उत्पन्न भएपछि एक स्थानको परिणाम स्थगित गरिएको हो ।

निर्वाचन आयोगका अनुसार चुनाव भएका २६४ स्थानमध्ये स्वतन्त्र उम्मेदवारहरु सबैभन्दा बढी अर्थात् १ सय १ स्थानमा विजयी भएका छन् । यीमध्ये ९३ जना जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तेहरिक-ए-इन्साफ पार्टी (पीटीआई) समर्थित उम्मेदवार रहेको बताइएको छ । पूर्वप्रधानमन्त्री नवाज शरिफको दल पाकिस्तान मुस्लिम लिग-एन ७५ सिटमा जित हासिल गर्दै दोस्रो स्थानमा रहेको छ ।

पीटीआई उम्मेदवारहरु स्वतन्त्र हैसियतमा रहेकाले शरिफको दल नै संसद्को सबैभन्दा ठूलो दल भएको छ । यस्तै पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा तथा पूर्वविदेशमन्त्री बिलावल भुट्टो जर्दारीको दल पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ५४ स्थान जित्दै तेस्रो स्थानमा छ ।

अर्को दल मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम) १७ स्थान जित्दै चौथो स्थानमा छ । पूर्वप्रधानमन्त्रीद्वय शरिफ र खान दुवैले आफूहरुले यो निर्वाचन जितेको दाबी गरेका छन् । मतदान सम्पन्न भएको ६० घण्टा भन्दाको बढी समयपछि आयोगले अन्तिम नतिजा प्रकाशित गरेकामा धाँधलीको आशंका गरिएको छ । यद्यपि सरकारले भने प्राविधिक कारणवश परिणाम आउन ढिलाइ भएको सफाइ दिएको छ ।

यसैबीच पाकिस्तानी सेना प्रमुख जनरल आसिम मुनिरले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनतालाई सेवा दिने दिशामा अग्रसर हुन राजनीतिक दलका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

यता पूर्वप्रधानमन्त्री नवाज शरिफले गठबन्धन सरकार बनाउनका लागि अन्य दलसँग संवादको थालनी गरिसकिएको बताएका छन् । शरीफको दलले पीपीपी र एमक्यूएमसंग वार्ता गरिरहेको जनाइएको छ । पूर्वप्रधानमन्त्री खान समर्थकहरु स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचनमा उठेकाले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका ७० सिटमा भने उनीहरुको कुनै हिस्सेदारी रहने छैन । शरीफको दलले भने समानुपातिकतर्फ करीब २० सांसद पाउने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.