हंगेरीकी राष्ट्रपति केटालिन नोभाकले दिइन् पदबाट राजीनामा

बाल यौनदुराचारको घटना ढाकछोप गरेबापत् सजाय भोगिरहेका व्यक्तिलाई आममाफी दिएको विषयमा विवाद
माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
हंगेरीकी राष्ट्रपति केटालिन नोभाकले दिइन् पदबाट राजीनामा

काठमाडौं । हंगेरीमा बाल यौनदुराचारको घटना ढाकछोप गर्न सहयोग गरेको अभियोगमा सजाय भोगिरहेका एक व्यक्तिलाई आममाफी दिइएको विषयमा विवाद भएपछि राष्ट्रपति केटालिन नोभाकले पदबाट राजीनामा दिएकी छन् ।

राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै उनले आफूले गल्ती गरेको भन्दै क्षमायाचना गरेकी थिइन् । विपक्षी दल तथा प्रदर्शनकारीले उनको राजीनामा माग गर्दै आएका थिए ।

नोभाकले सन् २०२३ को अप्रिलमा २५ कैदीबन्दीलाई आममाफी दिने घोषणा गरेकी थिइन् । आममाफी पाउनेमा बालगृहका एक उपनिर्देशक पनि थिए जसले सोही बालगृहका पूर्वमहानिर्देशकलाई उनको अपराध लुकाउन सहयोग गरेका थिए । ती महानिर्देशकलाई सन् २००४ देखि २०१६ को अवधिमा थुप्रै नाबालिग बालकको यौन शोषण गरेको अभियोगमा ८ वर्षको जेल सजाय सुनाइएको थियो ।

घटना ढाकछोप गर्न सहयोग पुर्याएको अभियोगमा उपनिर्देशकलाई पनि तीन वर्षभन्दा बढीको सजाय सुनाइएको थियो ।

सन् २०२२ मा नोभाक हंगेरीको राष्ट्रपति निर्वाचित हुने पहिलो महिला बनेकी थिइन् । राष्ट्रपति नोभाकसँगै आममाफीको आदेशमा हस्ताक्षर गरेकी तत्कालीन न्यायमन्त्री जुडिट भर्गाले पनि पदबाट राजीनामा दिएकी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.