पाकिस्तानमा निर्वाचनको मतपरिणाम आउने क्रम जारी, २६५ मध्ये १५६ स्थानको नतिजा घोषणा

माघ २६, २०८० |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानमा निर्वाचनको मतपरिणाम आउने क्रम जारी, २६५ मध्ये १५६ स्थानको नतिजा घोषणा

काठमाडौं । पाकिस्तानमा हिजो सम्पन्न आमनिर्वाचनको मतगणनाको परिणाम आउने क्रम जारी छ ।

अहिलेसम्म प्राप्त परिणामअनुसार जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरुले सबैभन्दा बढी स्थानमा जित हात पारेका छन् । तीनपटक देशको सत्ता हाँकिसकेका पूर्वप्रधानमन्त्री नवाज शरिफको दल पीएमएल-एन, स्वतन्त्र उम्मेदवारको तुलनामा करिब एकतिहाइ कम स्थानमा जित हात पार्दै दोस्रो स्थानमा छ । त्यस्तै हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टो जर्दारीको पीपीपी पार्टी पीएमएल-एनभन्दा केही सिट पछाडि छ ।

पाकिस्तानको निर्वाचन आयोगले संघीय संसद् नेसनल एसेम्बलीका २६५ सिटमध्ये १५६ स्थानको नतिजा घोषणा गरिसकेको छ । १ सय ९ स्थानको मत परिणाम आउन बाँकी छ ।

निर्वाचन आयोगले जारी गरेको परिणामअनुसार स्वतन्त्र उम्मेदवारले ६२ स्थानमा विजय प्राप्त गरेका छन् । पूर्वप्रधानमन्त्री शरिफको दल पीएमएल-एनले ४६ स्थानमा विजय प्राप्त गरेको छ ।

यस्तै बिलावल भुट्टोको पार्टी पीपीपीले ३९ स्थानमा विजय प्राप्त गरेको छ ।

पाकिस्तानमा निर्वाचन : कसले सम्हाल्ला सत्ता ?

पूर्वप्रधानमन्त्री शरिफलाई पाकिस्तानको शक्तिशाली सेनाको साथ र समर्थन रहेको बताइँदै आएकामा निषेधको राजनीतिको सिकार बनेका पूर्वप्रधानमन्त्री खान समर्थित स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी स्थानमा जित्नुले जनताले सेनाको दबदबालाई अस्वीकार गरेको प्रस्ट देखाएको विश्लेषण गरिएका छन् ।

जेलभित्रै रहेर चुनावी अभियान चलाएका खानले जनताको यति ठूलो समर्थन पाउनुलाई विश्लेषकहरुले अभूतपूर्व रुपमा हेरेका छन् । यो निर्वाचनबाट कुनै पनि दलले प्रस्ट बहुमत प्राप्त नगर्ने र त्रिशंकु संसद बन्ने विश्लेषण पहिलेदेखि नै गर्दै आइएको थियो । सबै स्थानको परिणाम प्राप्त भइसकेपछि कसले सरकार बनाउने त्यसको खाका आउनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.