भारतमा रेल दुर्घटना : मृतकको संख्या २०७ पुग्यो, ९०० बढी घाइते

जेष्ठ २०, २०८०
भारतमा रेल दुर्घटना : मृतकको संख्या २०७ पुग्यो, ९०० बढी घाइते

नयाँदिल्ली । भारतको ओडिसाको बालासोर जिल्लानजिकै कोरोमण्डल एक्सप्रेस रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २०७ पुगेको छ । घाइते हुनेहरु ९०० भन्दा बढी रहेको त्यहाँका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

शुक्रबार मालवाहक अर्को रेलसँग ठोक्किएपछि कोरोमण्डल एक्सप्रेस लिकबाट बाहिर गएपछि दुर्घटना भएको हो । शुक्रबार साँझ झन्डै साढे ७ बजे भएको दुर्घटनालगत्तै २०० वटा एम्बुलेन्स परिचालन गरिएको बालासोर जिल्लास्थित ओडिसाका चिफ सेक्रेटरी प्रदीप जिनाले जनाएका छन् ।

दुर्घटनाको खबर पाएलगत्तै भारतीय रेलमन्त्री अश्विनी वैष्णव स्वयं दुर्घटनास्थल पुगेका थिए । उनले ट्‌विट गर्दै दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनले दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् ।

यस्तै सख्त घाइतेहरुलाई दुई लाख रुपैयाँ र सामान्य घाइतेहरुलाई ५० हजार रुपैयाँ राहत दिनेसमेत मन्त्री वैष्णवले घोषणा गरेका छन् ।

घाइतेहरुलाई गोपालपुरका अस्पताल तथा बालासोरको मेडिकल कलेजलगायत विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको ओडिसाका चिफ सेक्रेटरी प्रदीप जिनालाई उद्धृत गर्दै बीबीसीमा समाचार छ ।

दुर्घटनामा परेकाहरुको उद्धार कार्य अझै जारी छ ।

-बीबीसी