रुस-चीनबीच व्यापार तथा खेल सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर, द्विपक्षीय व्यापार २ सय अर्ब डलर पुर्‍याउने लक्ष्य

जेष्ठ १०, २०८०
रुस-चीनबीच व्यापार तथा खेल सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर, द्विपक्षीय व्यापार २ सय अर्ब डलर पुर्‍याउने लक्ष्य

बेइजिङ । रुस र चीनबीच व्यापार तथा खेल सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री मिखाइल मिशुस्तिन नेतृत्वको रुसी टोली र चिनियाँ पक्षबीच आज (बुधबार) बेइजिङमा हस्ताक्षर भएको हो ।

गत वर्ष दुई मुलुकबीचको व्यापार १९० अर्ब डलर थियो । यो सम्झौतासँगै द्विपक्षीय व्यापार दुई सय अर्ब डलर पुग्ने लक्ष्य राखिएको छ । युक्रेनमाथि आक्रमण थालेयता कुनै पनि रुसी उच्च अधिकारीले चीन भ्रमण गरेको यो पहिलो हो ।

रुसी प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र समकक्षी लि शियाङसँग पनि भेटवार्ता गरेका थिए । जी-सेभेन मुलुकले रुसविरुद्धको प्रतिबन्धमा थप कडाइ गरेपछि र चीनविरुद्ध अभिव्यक्ति दिएलगत्तै दुवै मुलुकका उच्च अधिकारीबीच भेटवार्ता भएको हो ।

चिनियाँ प्रधानमन्त्री लीले रुसलाई उच्चस्तरको सहयोग गर्न र पारस्परिक लाभको क्षेत्र पहिल्याउन तयार रहेको बताएका छन् । रुसमा सञ्चालन गरिने परियोजनाहरु बेल्ट एन्ड रोड इनिसियटिभअन्तर्गत रहने चिनियाँ भनाइ छ ।