भारत र पाकिस्तानबीचको शत्रुतापूर्ण सम्बन्धले प्रभावित बन्दै दक्षिण एसियाका क्षेत्रीय गतिविधि

जेष्ठ ६, २०८० |किरण अधिकारी
भारत र पाकिस्तानबीचको शत्रुतापूर्ण सम्बन्धले प्रभावित बन्दै दक्षिण एसियाका क्षेत्रीय गतिविधि

काठमाडौं । बेलायती उपनिवेशबाट स्वतन्त्र भएदेखि नै भारत र पाकिस्तानबीचको सम्बन्ध शत्रुतापूर्ण रहँदै आएको छ । 

भारत र पाकिस्तानबीचको तनावका कारण नेपाल लगायत दक्षिण एसियाली देशहरूमा यसको नकारात्मक प्रभाव पर्दै आएको छ । दुई मुलुकबीचको वैमनस्यपूर्ण सम्बन्धले दक्षिण एसियाकै क्षेत्रीय गतिविधि प्रभावित हुने गरेको छ । पछिल्लो–पटक एसिया कप क्रिकेट आयोजनामा समेत यसको असर देखिएको छ ।

सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा युएईलाई पराजित गर्दै नेपाल पहिलो पटक एसिया कपका लागि छनोट भयो । तर, कारगिलमा युद्ध चर्किएका कारण भारतले पाकिस्तानसँग खेल्न अस्वीकार गर्‍यो । सोही कारण एसियाली क्रिकेट परिषद्ले उक्त संस्करण नै रद्द गरेपछि नेपालले खेल्न पाएन । 

यस पटक पनि नेपाल एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै दोस्रो पटक एसिया कपमा छनोट भएको छ । तर, सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने भनिएको प्रतियोगितामा भारतले सहभागिता नजनाउने भनेपछि फेरि अन्योलको अवस्था छ । यति बेला एसीसी भारत र पाकिस्तानबीचको विवाद चिर्दै साझा आयोजनास्थल खोज्दै छ । 

भारत-पाकिस्तानबीचको द्वन्द्वका कारण दक्षिण एसियाली क्षेत्रीय सगठन-सार्क कोमाको अवस्थामा छ । हरेक २-२ वर्षमा हुनुपर्ने सार्क सम्मेलन नभएकै एक दशक पुग्न लाग्यो । २०१४ मा नेपालमा भएपछि १९ औँ शिखर सम्मेलन २०१६ मा पाकिस्तानमा हुनुपर्थ्यो । तर, भारत र पाकिस्तानबीचको तनावका कारण सम्मेलन हुन सकेको छैन । 

भारतले सार्कको सट्टा भुटान, बङ्गलादेश, तथा नेपालबीचको बीबीआईएन, बिमस्टेक, सांघाई कोअपरेशन अर्गनाइजेशनजस्ता क्षेत्रीय तथा उपक्षेत्रीय सङ्गठनलाई सक्रिय गराएको छ ।

भारत र पाकिस्तानबीच सीमा विवाद त छँदै छ, सबैभन्दा ठूलो विवाद कश्मीरको नियन्त्रणलाई लिएर छ । बेलायतबाट स्वतन्त्र भएदेखि नै सुरु भएको विवादले आणविक शक्ति सम्पन्न यी दुई मुलुकबीच ठुला युद्धसमेत भइसकेका छन् भने आपसी व्यापारसमेत अस्तव्यस्त छ । 

समान रहनसहन र संस्कृति भएका यी दुई मुलुकबीचको वैमनस्यपूर्ण सम्बन्धले क्षेत्रीय शान्ति, स्थिरता र विकासलाई अवरुद्ध पारिरहेको छ। पछिल्लो समय खेल क्षेत्रमा समेत यसको असर परेको छ  ।


Image

किरण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।