रुसी लडाकु विमानको ठक्करबाट ब्ल्याक सीमा खस्यो अमेरिकी ड्रोन

चैत्र १, २०७९
रुसी लडाकु विमानको ठक्करबाट ब्ल्याक सीमा खस्यो अमेरिकी ड्रोन

वासिङटन । अमेरिकाले आफ्नो मानवरहित विमान (ड्रोन) लाई रुसी लडाकु विमानले ब्ल्याक सीमा खसालेको आरोप लगाएको छ ।

अमेरिकी सेनाले उक्त ड्रोन नियमित उडानअन्तर्गत अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा उडिरहेका बेला दुई वटा रुसी लडाकु विमानले त्यसलाई रोक्ने प्रयास गरेको जनाएको छ । उक्त ड्रोनलाई दुई रुसी लडाकु विमान एसयू-२७ ले पहिले घेराबन्दी गरेको र त्यसपछि माथिबाट तेल खन्याएको अमेरिकी सेनाको आरोप छ । तेल खनाएपछि ड्रोनको प्रोपेलरमा क्षति पुगेको र लडाकु जहाजले ठक्कर दिएर ब्ल्याक सीमा खसालेको जनाइएको छ ।

रुसले भने आफ्ना लडाकु विमानले उक्त ड्रोनलाई नछोएको र तीव्र कलाबाजी गर्दै आफैँ दुर्घटनाग्रस्त भएको बताएको छ ।

अमेरिकी विदेशमन्त्रालयले वासिङटनस्थित रुसी राजदूत एन्टोली एन्टोनोभलाई बोलाएर रुसी गतिविधिको औपचारिक विरोध जनाएको छ । भेटपछि रुसी सञ्चारमाध्यमलाई दिएको प्रतिक्रियामा एन्टोनोभले उक्त ड्रोन प्रकरणलाई मस्कोले भड्काउवादी गतिविधिका रुपमा लिएको बताएका छन् ।

रुसले सन् २०१४ मा युक्रेनको क्राइमिया आफूमा गाभेयता ब्ल्याक सी क्षेत्र तनावग्रस्त रहँदै आएको छ । अझ रुसले गत वर्षको फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि त अमेरिका र बेलायतले ब्ल्याक सीमाथि निगरानी उडानको संख्या बढाएका छन् ।

युद्धमा युक्रेनलाई अमेरिकाले समर्थन गरेकोमा रुस क्रुद्ध बन्दै आएको छ ।

ताजा घटनाले युक्रेन युद्धलाई लिएर यी दुई शक्ति राष्ट्रबीच प्रत्यक्ष भिडन्तको खतरा बढ्दै गएको संकेत गरेको विश्लेषकहरुको टिप्पणी छ ।