टर्कीको भूकम्पमा ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
टर्कीको भूकम्पमा ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो

अंकोरा । टर्कीको भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ११ हजार नाघेको छ । पछिल्लो अपडेटअनुसार टर्कीमा ८ हजार ५ सय र सिरियामा २५ सयभन्दा बढीको मृत्यु भएको हो । हजारौं भवन ध्वस्त भएकाले मृतक र घाइतेको संख्या बढ्दो छ ।

भूकम्पबाट एक करोड पैंतीस लाख मानिस प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उद्धारकर्मीहरु अति प्रभावित क्षेत्रमा खोजी कार्यमा छन् । सडक ध्वस्त भएको तथा खराब मौसम र स्रोत-साधनको अभावले उद्धार प्रभावकारी हुन सकेको छैन । सोमबार ७ दशमलव आठ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा टर्कीमा अस्पताल, विद्यालय र आवासीय क्षेत्रहरु भत्किएका छन् । दशौं हजार मानिस घाइते भएका छन् । टर्की र उत्तरी सिरियामा लाखौं नागरिक घरबारविहीन भएका छन् ।

टर्कीको भूकम्प प्रभावित दश प्रान्तमा तीन महिनाका लागि संकटकाल घोषणा

संयुक्त राष्ट्रसंघले सिरियामा जारी गृहयुद्धले ७० प्रतिशत मानिस मानवीय सहायतामा आश्रित रहेको अवस्थामा भूकम्पको विपत्तिले थप संकट निम्त्याएको बताएको छ । विपत् प्रभावित क्षेत्रमा इन्धन र विद्युत् आपूर्ति बन्द भएको छ । सहायता निकायहरु तत्कालका आवश्यक खाद्य सामग्री, अस्थायी आवास, औषधिलगायत उपलब्ध गराउन सक्रिय छन् ।

सिरियाली सरकारले भने सहायता दमास्कसमार्फत प्रदान गरिनुपर्ने माग गरेको छ । सीमा पारी टर्कीबाट अनुदान र उद्धार सहायता जान नहुने उसको भनाइ छ । टर्कीमा उद्धार र राहतको काम जारी रहँदा राष्ट्रपति रेसेप तायिप इर्दोगान प्रभावित क्षेत्र पुगेका छन् ।

दृश्यमा टर्की-सिरिया भूकम्प : ५ हजारको गयो ज्यान

यसैबीच टर्कीस्थित गैरआवासीय नेपाली संघका महासचिव विनोद पौडेलका अनुसार भूकम्प प्रभावित नेपालीको खोजी र सम्पर्कको प्रयास जारी छ । अहिलेसम्म १४ विद्यार्थी, चारजना घरेलु कामदारसहित २३ नेपाली सम्पर्कमा आएका छन् । घरेलु कामदारका रूपमा कार्यरत थप दुई नेपाली महिला सम्पर्कमा नआएकाले खोजी भइरहेको पौडेलले जानकारी दिए । सय वर्षयता टर्कीमा यो भूकम्प सबैभन्दा शक्तिशाली भएको जनाइएको छ ।

सम्बन्धित समाचार...

टर्कीका विदेश मन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको टेलिफोन वार्ता

टर्कीमा भूकम्पपछिको राहत र पुनर्स्थापनाका लागि नेपालले सहयोग गर्ने


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.