अमेरिकाले भन्यो- चीनले जासुसी गर्न बेलुन उडायो

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाले भन्यो- चीनले जासुसी गर्न बेलुन उडायो

वासिंटन । अमेरिकी गुप्तचर निकायले गत साता क्षेप्यास्त्र प्रहार गरेर खसालिएको बेलुन चीनले जासुसीका लागि उडाएको दाबी गरेको छ ।

चीनले त्यस्ता बेलुन अमेरिकालगायत जापान, भारत, ताइवान र फिलिपिन्सका रणनीतिक क्षेत्रहरुबाट जानकारी संकलन गर्न प्रयोग गर्दै आएको अमेरिकी गुप्तचर संस्थाका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर चीनले ती बेलुन मौसमी जानकारी संकलन गर्न उडाइएको दाबी गर्दै आएको छ । तर अमेरिकी गुप्तचर निकायले भने चीनको हाइनानस्थित नौसेनाले जासुसी अभियानअन्तर्गत नै ती बेलुन उडाएको दाबी गरेको छ ।

सोही दाबी बाइडेन सरकारका अर्का एक उच्च अधिकारीले पनि गरेको सीबीएस समाचारले जनाएको छ । यसै साता ४० मित्रराष्ट्रसँग गरेको एक ब्रिफिङमा अमेरिकाले सन् २०१९ मा पनि यस्तै किसिमको बेलुनले पृथ्वीको चक्कर लगाएको र उक्त बेलुन अमेरिकाको हवाई र फ्लोरिडाको आकाशमा पनि देखिएको खुलासा गरेको थियो । अमेरिकाले पूर्वराष्ट्रपति डनल्ड ट्रम्पको कार्यकालमा यस्ता तीन वटा बेलुन आफ्नो आकाशमा उडेको बताउँदै आएको छ ।

यस बेलुन घटनाले अमेरिका र चीनबीचको चिसिएको कूटनीतिक सम्बन्धलाई झनै असर गरेको छ । यही क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनको चीन भ्रमण पनि अन्तिम समयमा रद्द गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.